माण्डवी नेपालले कानुनविपरीत काम गरेको भन्दै गृह मन्त्रालयले काट्यो कारवाहीको पत्र 

माण्डवी नामक रौतहट जिल्लाको एक संस्थाले ऐन कानुन विपरीत काम गरेको भन्दै गृह मन्त्रालयले कारवाहीको पत्र काटेको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटको नाममा गत जेठ २५ गते नै पत्र काटिएको भएपनि हालै मात्र चिठ्ठी आएपछि संस्थाले गरेको कामहरु अनुसन्धानको दायरामा आएको छ।

माण्डवी नेपाल नामक संस्थाले स्थानीय तहसँग समन्वय नगरी आफूखुशी काम गरेको छानबिन गर्न मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो। रौतहटको ईशनाथ नगरपालिकासँग बिना कुनै सहकार्य करोडौँको बजेट खर्च गर्दा आलोचना भएपछि गृहले चासो देखाएको हो।

समन्वय बिनै ईशनाथ नगरपालिकामा कल (ट्यूववेल) जडान, राहत वितरण लगायतका काम अपारदर्शी रुपमा काम गरेको भन्दै स्थानीयले गुनासो गर्न थालेपछि जिल्लाबाट विभिन्न उजुरी परेको गृह स्रोतको भनाई छ। उक्त संस्थाकी अध्यक्ष अन्जु झाले काँग्रस पार्टीको ब्यानरमा संस्थाको काम गरेपछि विवादित बनेको छ।

संस्थाले अहिलेसम्म गरेको कामको खर्च पनि सार्वजनिक गर्नुपर्ने स्थानीयको माग छ। लेखपढ गर्न नसक्ने जनताको औँठा छाप लिने र पछि आफूखुशी रकम खर्च गरेको विवरण तयार गर्ने गरेको भनी सामाज कल्याण परिषदमा समेत उजुरी परेको छ।

युएन वुमेनजस्ता संस्थाबाट पैसा ल्याएर कांग्रेस पार्टीको प्रचारप्रसारमा खर्च गर्ने गरेको स्थानीयले आरोप लगाउदै आएका छन्। संस्थाको अध्यक्ष झासहितको पदाधिकारी सम्पतिको छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्पति सुद्धिकरण विभागमा उजुरी परेको ईशनाथका एक कांग्रेस नेताले नै जानकारी दिए।

प्रकाशित मिति: : 2021-07-08 13:10:00

प्रतिकृया दिनुहोस्