चाँडो सक्न हतारिदा वर्ष दिन नपुग्दै भत्कियो फेवा जोगाउने 'सिल्टेसन ड्याम'

Breaknlinks
Breaknlinks

हरेक बर्खा फेवाको मुहानबाट गेग्रान आउछ। गेग्रान सोझैं फेवातालमा मिसिन्छ।

सन् २००२ मा गरिएको एक अध्ययनका अनुसार वर्षेनी एक लाख २४ हजार मेट्रिक टन गेग्रान फेवामा मिसिने गरेको छ। यसले फेवातालको आकार खुम्च्याउँदै आएको छ।

बर्खामा यसरी आउने गेग्रान फेवामा मिसिन नदिन प्रदेश सरकार र पोखरा महानगरको संयुक्त लगानीमा फेवाताल जोगाउन मुहानमा 'सिल्टेसन ड्याम' बनाउन जुट्यो।

फेवा संरक्षण गर्ने सोही योजना अनुसार पोखरा-२३ स्थित हपर्नखोला, घाँटीछिना, बेतयानी खोलामा दुई ठाउँ, बेत्यानी, लौरुक खोला र अँधेरी खोलामा चेकड्याम र सिल्टपोखरी निर्माण गरिएको छ। फेवा संरक्षण गर्न बनाइएको उक्त ड्याम बुधबार साँझदेखि परेको लगातारको वर्षापछि आएको बाढीले भत्किएको छ।

हर्पन खोलामा निर्माण भएको सिल्टेसन डयामको एक छेउ बाढीले बगाई दिएको छ। गत वर्ष निर्माण सम्पन्न भएको ड्यामकोे पूर्वी भाग बाढीले भत्काइ दिएको हो।

अहिले खोलाले आफ्नो बाटो छोडेर अर्को धारमा हिँड्न थालेपछि तल्लो तटीय क्षेत्रका बस्ती पनि जोखिममा परेका छन्। बाढीले ड्याम भत्काउँदा करिब १ सय ५० रोपनी क्षेत्रफलमा लगाइएको धान खेत पुरिएकाे छ भने ६ घर उच्च जोखिममा छन्।

२८ करोड रुपैयाँ खर्चेर बनाइएको ड्याम भत्केपछि तल्लो तटीय क्षेत्रका स्थानीय त्रासमा छन्। ड्यामले बस्ती सुरक्षित हुने आश लिएका स्थानीय ड्यामले उल्टै जोखिम बढाएको बताउँछन्।

स्थानीय सुनिल पराजुलीले स्थानीयहरू खोला बढ्दा थप क्षति हुने त्रासमा रहेको बताए। उनले ड्याम गुणस्तरिय नबनेकोसमेत बताए।

वडा नम्बर २३ का कार्यबाहक अध्यक्ष भरतराज भण्डारी निर्माण सम्पन्न हुनु अगावै ड्याम गुणस्तरिय नबनेकोमा सुसूचित बनाएको बताउँछन्। ‘निर्माण सम्पन्न गरेर उद्घाटन गर्नु पहिल्यै यो ड्याम गुणस्तरिय बनेको छैन, यो ठेकेदारी प्रक्रिया अलि अचम्मको हुँदो रहेछ, त्यसकारण यहाँ गुणस्तरिय गर्नुस् भनेर पनि भनेको थिएँ,’ उनले भने।

जतिबेला पनि भत्कन सक्ने अवस्थाको ड्याम भएकाले यसले विपत्ति निम्त्याउनेबारे पहिले नै सचेत बनाएको उनको दाबी छ।

मधेशको जस्तो सम्मखोला नभएको कारण ढुंगा, बालुवा र सिमेन्टको प्रयोगले मात्र बनाउने डिजाइन गरिएकाले ड्याम डिजाइनमै कमजोरी रहेको उनको ठाेकुवा छ। निर्माण चाँडो सक्नुपर्ने हतारोका कारण सिमेन्ट र बालुवा गुणस्तरिय प्रयोग नगरिएको उनले आरोप लगाए।

उनी अहिलेसम्म जन-धनको क्षति नभए पनि, हुने सम्भावना बढेको बताउँछन्। उनले स्थानीय, प्रदेश र संघ सरकारलाई तत्काल उचित व्यवस्थापनको लागि सहयोग गर्न समेत आग्रह गरेका छन्।

यसअघिको बर्खामा पनि निर्माण चल्दै गर्दा ड्याम भत्केको थियो। निर्माण हुँदै गर्दा बाँध भत्किएपछि प्रदेश सरकारबाट अध्ययन टोली नै गठन भएको थियो। उक्त टोलीले बाँध निर्माण त्रुटिपूर्ण भएकाले ड्याम भत्किने प्रतिवेदन सार्वजनिक गरेको थियो।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका निवर्तमान सदस्य डा. विष्णुराज बरालले निर्माण नै त्रुटिपूण रहेकाले ड्याम भत्कने निश्चित नै रहेको प्रतिक्रिया दिएका छन्। ‘हामीले अध्ययन नै गरेर त्यसको प्रतिवेदन दिएका छौं। ड्याम भत्किन्छ भनेरै प्रतिवेदन दिएको हो। त्यो मात्र होइन, अरु चेकड्याम र सिल्ट पोखरी पनि रोट्रोफिटिङ नगरी हुँदैन। त्यसको सबै लागत हामी अध्ययन गरेर दिएका थियौैं,’ उनले भने।

अध्ययन टोलीले रेक्ट्रोफिटिङ गर्नुपर्ने निस्कर्षसहित रेक्ट्रोफिटिङका लागि २७ करोड रुपैयाँ थप लगानी गर्नुपर्ने देखिएको थियो। पोखरा महानगरले रेट्रोफिटिङको काम गर्नुपर्ने भए पनि समयमा काम नहुदाँ बाढीले ड्याम नै बगाएको छ।

ड्यामको सुरक्षा गर्ने ज्याकेटिङको काम नहुँदा ड्याम भत्केको महानगरले बताएको छ। सूचना अधिकारी भरतराज पौडेलले बर्खासम्म संरक्षण गर्नुपर्छ भनेर सार्वजनिक निकायमा आह्वान गरे पनि समय अभावले नभएको बताए।

‘यो ड्यामलाई कसरी लामो समयसम्म संरक्षण गर्न सकिन्छ, त्यहाँको सामग्री कसरी निकाल्न सकिन्छ भनेर अध्ययन पनि गरेका थियौं। सार्वजनिक साझेदारी अनुसार अघि लैजाने भनेर प्रयास गरियो। दुई पटकसम्म सूचना परेन, तेस्रो पटक जेठ आयो, त्यसकारण यो वर्ष मर्मत गर्न सकेनौं,’ उनले भने। ड्याम 'डिएलपी पिरियड'मै भत्किएको खण्डमा निर्माण कम्पनीले नै मर्मत गर्नुपर्ने प्रावधान छ।

२८ करोड १६ लाख रुपैयाँ लगानीमा बनेका पाँच वटा 'सिल्टेसन ड्याम' निर्माणका लागि ३६ करोड ८४ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको थियो। सुरुआती समयमा महानगरले वार्षिक २३ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको थियो।

बाँधमा जम्मा भएका ढुंगा, बालुवाजन्य पदार्थ बेच्ने र आर्थिक आम्दानी गर्ने महानगर र प्रदेश दुवैको योजना थियो। अहिले ड्याम निजी कम्पनीले ठेक्कामा लिएको छ। सार्वजनिक निजी साझेदारी (सानिसा) योजनाअन्तर्गत महानगरले २४ वर्षका लागि नदीजन्य पदार्थ बेच्ने अधिकार ‘फेवा सिल्ट्रेसन प्रालि’ नामक नीजि कम्पनीलाई दिएको हाे।

ड्याम बनाउने ठेक्का दाङको 'खड्का कृष्ण पिके जेभी'ले पाएको थियो। गएको बर्खाअघि निर्माण सकिएको उक्त 'सिल्टेसन ड्याम' ७ करोड ८८ लाख ६२ हजार रुपैयाँमा ठेकेदार कम्पनीले जिम्मा लिएको थियो।

बर्खाअघि निर्माण सकिएको बाँध बर्खा सुरु हुनेबित्तिकै भत्किन लागेपछि चर्को विरोध भएको थियो। फेवाताल जोगाउन बनाइएका पाँच 'सिल्टेसन ड्याम' नै अहिले जोखिममा छन्। 

प्रकाशित मिति: : 2021-07-09 16:22:00

प्रतिकृया दिनुहोस्