Breaknlinks
Breaknlinks

कहिलेकाहीँ म धेरै भावुक हुन्छु
संसारको धनी, ज्ञानी, इमानदार, सहयोगी आफै ठान्छु
एकछिनमा ब्युँझिन्छु, झस्किन्छु, दायाँबायाँ हेर्छु,
ऐनामा आफ्नाे अनुहार मज्जाले हेर्छु
साला म त संसारको ठूलै पापी रहेछु।

कयौं रहरहरुकाे हत्या गरेको छु
धेरै सपनाको भ्रुण हत्या गरेको छु
सस्ता इच्छालाई दिनदहाडै मसानघाटमा पाेलेकाे छु
बाध्यताकाे नाममा म भित्रकाे म प्रति बदनाम भएको छु
आफैले गर्ने तिरस्कारलाई पुरस्कार सम्झेँकाे छु
म प्रकाण्ड ढाेगीं रहेछु ।

बेलाबेलामा आफैले आफूलाई सान्त्वना दिन्छु
भाे कर्म यस्तै रहेछ भनी मन बुझाउँछु
भावीकाे लिला मेरालागि सस्तै ठान्छु
वास्तवमा, म भाग्यलाई दाेष दिने हारूवा रहेछु,
त्यसै पन्छिन खाेज्ने कातर रहेछु
लडाइँको मैदानबाट भाग्ने कायर रहेछु
अझै सम्झिन्छु म इमानदार रहेछु।

बेलाबखत मन्दिर जान्छु
ढुङ्गालाई हेर्छु, छेउको चाैकिदारलाई बीसकाे नाेट दिन्छु
बाहिर धुप, अगरबत्तस्, दीयाे मेरो नाममा जलाउँछु
माग्छु, अझ अर्काेपटक धेरै दिन्छु भनी फकाउँछु
यसाे बिचार गर्छु म खतरा माग्ने रहेछु
ढुङ्गासँग बिलाैना गर्ने, नम्बरी घुसियाँ रहेछु
मनमनै आफैले आफूलाई ठिकै हाे भन्छु ।

मैले कसैलाई लुटिनँ, ठगिनँ, मारिनँ, म केको पापी 
फेरि सम्झन्छु म त राम्रै रहेछु, सज्जन रहेछु
पुनः एकपटक ऐना हेर्छु
इच्छा आकांक्षा रहरकाे हत्याकाे तस्बिर देख्छु
ती तमाम मृतृ सपनाको चीत्कार सुन्छु
आफैमाथि झुटकाे खेती देख्छु
साला सबैभन्दा ठूलो धाेकेबाज कपटी मै रहेछु ।

वास्तवमा  मैले मलाई चिन्न नसकेको रहेछु
आफुभित्रकाे "म" लाई पलपल मार्ने हत्यारा रहेछु
अपराधी पापी भरिएको पाेखरीकाे मालिक रहेछु
नकाबकाे साहारले जिउँने सिसिफस रहेछु
आफूले आफूलाई नबुझ्ने अबुझ रहेछ।

बेलाबेला म आफ्नाे चित्र काेर्छु
लगभग डुडल चित्र देख्छु
कुनै काेणबाट आफैले आफूलाई चिन्दिनँ
जति हेर्याे फरक देख्छु
म फरक रहेछु, सत्यभन्दा।

प्रकाशित मिति: : 2021-07-10 13:22:00

प्रतिकृया दिनुहोस्