अल्जेरियाका प्रधानमन्त्री कोरोना सङ्क्रमित

अल्जेरियाका प्रधानमन्त्री अयमान बेनाब्डेराहमन कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।

स्वाब परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका हुन्। सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्री बेनाब्डेराहमन अहिले छुट्टै बस्न थालेका छन्। 

उनले कोरोनाभाइरस सम्वन्धी मापदण्डहरुको पालना पनि गरेको उनको सचिवालयले जानकारी दिएको छ। घर भित्र छुट्टै बसेपनि उनले कतिपय काम भने गरेको सचिवालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ। 

उनलाई सङ्क्रमण पुष्टि भएपनि अवस्था भने सामान्य नै रहेको जनाइएको छ। उनलाई देशका बरिष्ठ चिकित्सकहरुको निगरानी पनि रहेको छ। 

बेनाब्डेराहमन यही जुन ३० तारिखमा अल्जेरियाको प्रधानमन्त्रीमा नियुक्त भएका थिए। अल्जेरियामा पछिल्ला केहीदिन देखि कोरोनाभाइरसको सङ्क्रमण अत्यधिक बृद्धि भएको छ। 

अहिले दैनिक झण्डै दुई सय जनाको दरले सङ्क्रमितहरुको सङ्ख्या बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन्। 
 

प्रकाशित मिति: : 2021-07-11 15:47:00

प्रतिकृया दिनुहोस्