रजिष्ट्रार नियुक्तिमा मुछिइन् पूर्वस्वास्थ्य मन्त्रीकी पत्नी

सेतोपाटी

विराटनगर

प्राध्यापक डा. मोहनचन्द्र रेग्मी २०७७ साउन ४ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिष्ट्रार नियुक्त हुँदा उपकुलपति डा. ज्ञानेन्द्र गिरी औधि खुसी थिए।

रेग्मीलाई दुबोको माला पहिर्‍याइदिएर रजिष्ट्रारको कुर्सीमा स्वागत गर्दै डा. गिरीले भनेका थिए, 'उहाँजस्तो डाइनामिक मान्छेलाई रजिष्ट्रारका रूपमा पाउँदा म ज्यादै खुसी छु।'

तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालसमक्ष रेग्मीको पक्षमा 'लबिङ' गर्न गिरी स्वयं लागेका थिए। तर आफैंले भनेको मान्छे रजिष्ट्रार नियुक्त हुँदाको खुसी उपकुलपति गिरीले लामो समय साँच्न पाएनन्।

करिब चार महिना मिलेरै काम गरेका यी दुईबीच जब जिम्मेवारी बाँडफाँटको कुरा आयो, मनमुटाव सुरू हुन थाल्यो। खासगरी गिरीले प्रतिष्ठानका सबै आर्थिक अधिकार आफैंमा केन्द्रित गरेपछि रेग्मी बिच्किएका थिए।

बिपी प्रतिष्ठानमै कार्यरत उच्च अधिकारीहरूका अनुसार रेग्मीले उपकुलपति गिरीसँग आफूलाई केही आर्थिक अधिकार हुनुपर्ने माग गरेका थिए। उपकुलपति गिरी भने आर्थिक अधिकार कसैसँग भागबन्डा गर्न चाहन्थेनन्।

यसले दुईबीचको सम्बन्ध तिक्ततापूर्ण बन्दै गयो। उनीहरू खुलेरै एकअर्काविरूद्ध उभिए।

'करिब चार महिना राम्रो ट्युनिङ थियो,' बिपी प्रतिष्ठानका एक उच्च अधिकारी भन्छन्, 'जब रेग्मीले आर्थिक अधिकार माग गरे, दुई जनाको सम्बन्ध बिग्रियो। उपकुलपति सबै अधिकार आफैंमा केन्द्रित गर्न चाहन्थे।'

प्रकाशित मिति: : 2021-07-11 20:26:00

प्रतिकृया दिनुहोस्