असई बानियाँद्वारा उच्च अदालतकी कर्मचारीको हत्या

उच्च अदालत विराटनगर इलामकी महिला कर्मचारीको हत्या आरोपमा नेपाल प्रहरीका (असई) युवराज बानियाँ पक्राउ परेका छन्।

असई बानियाँले अदालतकी कार्यालय सहयोगी ४८ वर्षीया विमलादेवी निरौलाको हत्या गरेको खुलेको छ। सोही हत्या आरोपमा असई बानियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए।

उच्च अदालत विराटनगरमा मुख्य न्यायाधीशको सुरक्षा गार्डका रूपमा रहेका ३५ वर्षे बानियाँले घाँटी थिचेर निरौलाको हत्या गरेको प्रहरीले जनाएको छ। 

निरौलाको शव कार्यालयको पछाडिपट्टि बलेंसीमा सोमबार बिहान साढे ७ बजे फेला परेको थियो।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी निरौलाको शव कार्यालयको पोसाकमै भेटिएको थियो। 

घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा बानियाँले आफूले हत्या गरेको स्वीकारेका थिए। पक्राउ बानियाँलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले बताएकोछ।

प्रकाशित मिति: : 2021-07-13 16:04:00

प्रतिकृया दिनुहोस्