बलात्कार घटनाका आरोपितलाई कारवाहीको दायरामा ल्याउन न्यायिक निकायको ध्यानाकर्षण

रौतहटमा भएका दुई छुट्टाछुट्टै बलात्कारको घटनामा पक्राउ परेका आरोपितहरुलाई कारवाहीको दायरामा ल्याउन पीडित तथा जनप्रतिनिधिहरुले जिल्लास्थित प्रशासन एवम् न्यायिक निकायको ध्यानाकर्षण गराएका छन्।

गत सोमबार (असार २३ गते) देवाही गोनाही नगरपालिका-७, उचीडिहमा एक दलित महिलाको बलात्कार गरेको आरोपमा नेपाली कांग्रेसका स्थानीय नेता नागेश्वर कुशवाहा पक्राउ परेका छन्।

त्यस्तै असार ३० गते देवाही गोनाही नगरपालिका-१, करुनियामा एक दलित महिलाको बलात्कार गरेको आरोपमा कांग्रेसबाट सोही वडाका वडा सदस्य उम्मेदवार रहेका राकेश पटेल पनि पक्राउ परेका हुन्।

दुईजनै हिरासतमा रहेका बेला पार्टीको सरकार रहेको भन्दै अनुसन्धानलाई प्रभावित पार्ने तथा पीडितलाई मिलापत्र गर्न धाकधम्की देखाउने जस्ता गतिविधि बढेपछि स्थानीय जनप्रतिनिधिहरुले सत्य तथ्य छानबिन गर्न ध्यानाकर्षण गराएका हुन्।

बिहीवार गौर स्थित सरकारी वकिलको कार्यालयका प्रमुख -जिल्ला न्यायाधिवक्ता सुवास कुमार भट्टराईलाई भेटेर पीडित तथा जनप्रतिनिधिहरुले कुनै पनि प्रभावमा नपरी पीडितलाई न्याय दिलाई बलात्कारीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका हुन्।

देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी पटेलको नेतृत्वमा गएको टोलीले प्रमुख भट्टराईलाई छिटो र छरितो ढंगले प्राथमिकताका साथ मुद्दा अगाडि बढाईदिन आग्रह गरेका थिए।

सो क्रममा प्रमुख भट्टराईले प्रहरीले अनुसन्धान गरिरहेको र सत्य तथ्यको आधारमा मुद्दा अगाडि बढाईने भएकोले प्रहरीको अन्तिम रिपोर्ट आएपछि मात्रै केही भन्न सकिने बताए।

अनुसन्धानको क्रममा दोषी देखिए दोषीलाई हदैसम्मको कारवाही हुने बताउदै उनले सबै पक्षलाई खबरदारी गर्नुका साथै पीडितले मनोबल कायर राख्नुपर्ने जीकिर गरे। उपमेयर पटेलको टोलीले आजै प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवलाई पनि यस विषयमा बृफिङ गरेका थिए।

सो क्रममा उपमेयर  पटेलसहित यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी साह, देवाही गोनाही नगरपालिकाका वडाध्यक्ष त्रय रामप्रवेश पटेल, अनिल झा, जगरनाथ उपाध्याय, नेता प्रेमलाल साहलसहित पीडित पक्ष र स्थानीयको उपस्तिथि रहेको थियो।

प्रकाशित मिति: : 2021-07-16 16:48:00

प्रतिकृया दिनुहोस्