नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डमा आयोजना हुने द हन्ड्रेड क्रिकेट प्रतियोगिता गुमाएका छन्।
भिसाको कारण ओभल इन्भिन्सिबलमा आबद्द सन्दीपले द हन्ड्रेड गुमाएका हुन्।
बिहिबारदेखि सुरु हुने प्रतियोगितामा सन्दीप ओभल इन्भिन्सिबल्समा अनुबन्ध भएका थिए। सन्दीप द हन्ड्रेडमा ६० हजार पाउण्ड (झन्डै १ करोड नेपाली रुपैयाँ) बराबरमा अनुबन्ध भएका थिए।
सन्दीप भिसाकै कारण खेल्न नपाएपछि नेपाल फर्किने तयारीमा छन्।
उनले सामाजिक सञ्जालमार्फत् द हन्ड्रेड गुमाएकाे पुष्टि गरेका हुन्। सन्दीपले टिएर ५ भिसा पाएपनि प्रतियोगिता खेलको लागि अनुमति नपाएको बताईएको छ।
'म ओभल इन्भिन्सिबलबाट खेल्न उत्सुक थिए। प्रतियोगिता गुमाउनु परेकोमा म अत्यन्त मर्माहित छु,' उनले लेखेका छन्, 'मैले टिएर ५ भिसाको लागि आवेदन दिए किनकि यस भिसाले प्रतियोगिता खेल्न पर्याप्त हुने भनिएको थियो।'
अब सन्दीपको स्थानमा दक्षिण अफ्रिकी बलर ताब्रेज शाम्सीले इन्भिन्सिबलबाट खेल्ने बताईएको छ। उनी पहिलो संस्करणको प्रतियोगिताका लागि इंग्ल्यान्ड पुगिसकेका थिए। उनको क्वारेन्टिन अवधि मंगलबार सकिएको थियो।
१०० बलको हुने प्रतियोगिता बिहीबारबाट सुरु हुने तालिका रहेको छ। पहिलो खेलमा इन्भिन्सिबल र म्यानचेस्टर ओरिजिनल्सबीच खेल हुनेछ।
भिसाकै कारण सन्दीपले यस अघि भाइटालिटी टी-ट्वान्टी ब्लास्ट क्रिकेट गुमाएका थिए। यसअघि पनि भिसा र पासपोर्टको ढिलाइका कारण सन्दीपले इंग्ल्याण्डमै भइरहेको दी भाइटालिटी ब्लास्ट गुमाइसकेका छन्।