बार्दलीबाट ‘गद्दार’ घोषणा, च्यासलमा ‘आममाफी’

अनलाइनखबर

काठमाडाैं

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको २८ असारको फैसलासँगै नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पद गुमाउनुपर्‍यो । ३० असारमा दलबलसहित बालुवाटारबाट बालकोट फर्किएका ओली बार्दलीमा बसेर आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालमाथि खनिए ।

उनले नेता नेपाललाई नेपाली कम्युनिष्ट आन्दोलनकै गद्दार घोषणा गरे । नेता नेपाललाई लाज सरम नभएको व्यक्ति भनेपछि ओलीका समर्थकहरुले गद्दार भन्दै नाराबाजी गरेका थिए । केहीबेरमा ओलीले पनि त्यही शब्द प्रयोग गरे ।

उनलाई पछ्याउँदै ओली समूहका अरु नेताहरुले पनि नेपाल र उनको समूहका नेताहरुमाथि यही आरोप लगाएका छन् । स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अन्तरपार्टी संघर्षमा गुप्त रुपमा विरोधीलाई जिताएर आत्मसन्तुष्टि लिने कुरा अन्तर्घात हो भने खुलेआम त्यसो गर्नु र गराउनु गद्दारी हो ।’

बुधबार केन्द्रीय कमिटी बैठकमा ओलीले अझ अगाडि बढेर भने, ‘माधव नेपालले गरेको गद्दारी गिनिजबुकमै लेखिनेछ ।’ उनले माधव नेपाललाई माउसुलीको पुच्छर र ऐंजेरुको संज्ञा दिन पनि पछि परेनन् । ‘समयमै पलाएको ऐंजेरु उखेल्न नसक्नु हाम्रो कमजोरी हो’ उनले अघि भने, ‘माउसुलीले कहिलेकाहीं पुच्छर फालिदिन्छ । त्यसकारण ऊ आत्तिंदैन, किनकि पुच्छर तुरुन्तै पलाउँछ । अहिले पुच्छर फाल्नु परे पनि तयार हुनुपर्ने बेला आएको छ ।’

प्रकाशित मिति: : 2021-07-22 20:08:00

प्रतिकृया दिनुहोस्