चीनको सन्तान नीति फेरियो, चाहेजति जन्माउन मिल्ने

Photo- thumbs.dreamstime
Photo- thumbs.dreamstime

चीन सरकारले चिनियाँ दम्पतीलाई तोकेको सन्तान पैदा गर्ने सीमा हटाएको छ। सरकारी प्रतिबन्ध हटेसँगै त्यहाँका नागरिकले आफ्नो इच्छा अनुसार जति पनि  सन्तान जन्माउन स्वतन्त्र भएका छन्।

चीन सरकारले जनसंख्या नियन्त्रण गर्न यसअघि तीन जनासम्म मात्र सन्तान पैदा गर्ने छुट दम्पतीलाई दिएको थियो।

संसारकै सबैभन्दा बढी जनसंख्या भएको देश हो– चीन। संन् २०१६ मा चीन सरकारले त्यसअघिको 'एक दम्पती एक मात्र सन्तान' नीतिलाई खारेज गरी प्रत्येक चिनियाँ दम्पतीले बढीमा दुई जनासम्म सन्तान जन्माउन पाउने नीति लिएको थियो।

त्यसलाई अझ खुकुलो बनाउँदै त्यहाँको सरकारले गत मे महिनादेखि प्रत्येक दम्पतीलाई ३ जनासम्म सन्तान जन्माउन दिने नीति लागू गरेको थियो।

चीनले धेरै सन्तान जन्माउने परिवारलाई कुनै पनि जरिवानाहरु नलिने पनि जुलाई २० तारेखका दिन घोषणा गरेको छ। पछिल्लो समय चीनमा वृद्धवृद्धा जनसंख्या धेरै छ।

न्यून जन्मदर र बढ्दो वृद्ध जनसंख्याका कारण चीनको अर्थतन्त्र धरासायी बन्ने प्रक्षेपणहरु पनि हुँदै आएका छन्। चीनले दीर्घकालीन आर्थिक सम्भावनाहरुलाई मध्यनजर गर्दै सन्तानको संख्यामा लगाएको प्रतिबन्ध हटाएको हो।

अब चीन सरकारले त्यहाँका जनतालाई धेरै सन्तान जन्माउन प्रोत्साहित समेत गर्ने नीति ल्याएको छ।  धेरै सन्तान हुने परिवारलाई कर छुट दिने पनि नीतिमा सार्वजनिक गरिएको छ तर एक वा दुई सन्तान मात्र जन्माउने परिवारलाई यसअघि दिइँदै आएका सुविधाहरु पनि यथावत नै राखेको छ। 

यसअघि जनसंख्या नियन्त्रणका लागि लिएको नीतिले जनसंख्या वृद्धिदर घटेको थियो। उत्पादनशील सक्रिय जनशक्तिको संख्या कम तर वृद्धको संख्या बढी हुने अवस्था आएपछि सन्तान उत्पादन गर्न प्रोत्साहित गरेको हो। दुई सन्तान जन्माउन दिने नीतिपछि पनि जन्मदर निकै कम नै भएपछि चीनले पुनः नीति परिवर्तन गरी खुकुलो बनाउँदै लगेको थियो।

मे महिनामा सार्वजनिक भएको जनगणनाको तथ्यांकले पछिल्लो दशकमा जनसंख्या वृद्धिदर (०.५३%) थियो जुन नयाँ चीनको सात दशक यताकै सबैभन्दा न्यून हो। सन् २०२० मा मात्र एक चिनियाँ महिलाले औसतमा १.३ जना सन्तानलाई जन्म दिएको तथ्यांकले देखाएको छ।

प्रकाशित मिति: : 2021-07-23 17:50:00

प्रतिकृया दिनुहोस्