बजारमा ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’

नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशन गरी बजारमा ल्याएको छ। कुलपति गङ्गाप्रसाद उप्रेतीको निर्देशन र सम्पादनमा शिक्षा र प्राज्ञिक क्षेत्रका विद्वान्हरू प्र.डा. हेमनाथ पौडेल, प्राडा. रमेशप्रसाद भट्टराई र डा. प्रेमप्रसाद चौलागाईँले लेखेकाे सो कृति प्रकाशन भएको हो।

प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले हालसम्म बजारमा पुरानै पद्धतिमा लेखिएका व्याकरण रहेको अवस्थामा नेपाली भाषाका सीपको शिक्षण गर्न अति उपयोगी हुने किसिमले लेखिएको यो हालसम्मकै नवीन व्याकरण भएको बताएका छन्।

नियम र सिद्धान्तबाट व्याकरण सिकाउने निगमनात्मक पद्धति भन्दा भिन्न आगमनात्मक पद्धतिको प्रयोग गरी व्याकरण सिकाउँदा शिक्षण प्रभावकारी, रोचक र सरल हुनुका साथै भाषिक सिपको अभिवृद्धिमा पनि सहयोगी हुने कुरालाई यसले प्रस्ट पारेको नेपाल प्रज्ञा प्रतिष्ठानले बताएकाे छ। 

प्रतिष्ठानका अनुसार भाषिक व्यवस्थाका विविध पक्षलाई प्रतिनिधित्व गर्ने खालका विभिन्न पाठहरू दिइएका छन्। विद्यार्थीहरू भाषिक प्रयोगबाट नै नेपाली भाषाको व्याकरण व्यवस्थासित परिचित होऊन् भन्ने उद्देश्यले प्रबन्ध, दैनिकी, कथा आदिबाट प्रत्येक पाठको प्रारम्भ गरिएको छ, भने प्रत्येक पाठका अन्त्यमा विभिन्न स्रष्टाका रचनाका अंश दिई त्यसबाट अभ्यास गराइएको छ। 

डिमाइ आकारको ३५२ पृष्ठको पुस्तकको मूल्य ३१५ रहेको छ।

प्रकाशित मिति: : 2021-07-23 20:18:00

प्रतिकृया दिनुहोस्