गुर्जोसँगै पत्थरचट्टा र करीपात रोपण

File photo
File photo

काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदी किनारका खुला स्थानमा पत्थरचट्टा र करीपात पनि रोपण गर्न थालिएको छ। 

नदी किनारका खुला स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने वनस्पति गुर्जोसँगै पत्थरचट्टा र करीपात पनि रोपण गर्न शुरु गरिएको अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए। काठमाडौँ महानगरपालिका वडा नं. ३१ स्थित आलोकनगर क्षेत्रमा तीन वटै वनस्पतिका गरी १०० बिरुवा रोपिएको हो।  

रोपिएका औषधीयुक्त वनस्पति संरक्षणको जिम्मा आलोकनगर सफाइ अभियानले लिएको संयोजक प्रमिला पौडेलले जानकारी दिए। 

कार्यक्रममा पूर्वसहसचिव एवं योग शिक्षक किशोरकुमार जोशी, अभियानकर्मी राजलवट, पौडेललगायतले जडिबुटी औषधिको उपयोगिताका विषयमा प्रकाश पारेका छन्। 

 पत्थरचट्टा पत्थरी रोग निवारणका लागि उपयोगी मानिन्छ। शरीरको भित्री भागका जुनसुकै ठाउँमा भएको पत्थरीलाई यस वनस्पतिको नियमित सेवनले ठीक गराउने क्षमता राख्छ। यसैगरी जण्डिस, पिसाब पोल्ने, कब्जियत, टाउको दुख्नेलगायत समस्या समाधानमा पनि पत्थरचट्टाले काम गर्छ। 

करीपातले रुघाखोकी, ज्वरो, ग्याष्टिकलाई फाइदा गर्छ। शरीरमा पाचन प्रणालीलाई राम्रो बनाउँछ। आँखा, मधुमेह र छालासम्बन्धी रोगलाई पनि करीपातले ठीक गर्ने आयुर्वेद चिकित्सक डा शेषराज आचार्यले बताए। शरीरमा रगतको कमीलाई हटाउने करीपातले कोल्ड स्टेरोल घटाउन पनि मद्दत गर्ने जनाइको छ। 

ब्रह्मानन्द सरस्वती ग्राममा गुर्जो 

आद्य शङ्कराचार्यले स्थापना गर्नुभएका चार मठमध्येको ज्योतिर्मठका पूर्वशङ्कराचार्य ब्रह्मानन्द सरस्वतीको नाममा दक्षिणकाली नगरपालिका– १ मा स्थापना भएको ब्रह्मानन्द सरस्वती ग्राममा १५० गुर्जो रोपण गरिएको छ। 

ब्रह्मानन्द सरस्वतीबाट शिक्षा लिई वैदिक ज्ञानको विश्वव्यापी प्रचारप्रसार अभियानमा लागेका महर्षि महेश योगीका चेलाको सहयोगमा सो ग्राममा वैदिक इन्ष्टिच्युट स्थापना भएको हो। 

प्रसिद्ध धार्मिकस्थल चम्पादेवीको काखमा रहेको रमणीय स्थानको २७.५ रोपनी क्षेत्रफलमा फैलने गरी १५० गुर्जोका बिरुवा रोपिएको अभियानकर्मी राजलवटले सुनाए। 

ग्राममा गुर्जो रोपण अभियानको शुरुवात् मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले गर्नुभएको हो। कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी, नेपाल महर्षि वैदिक फाउन्डेशनका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री दीपकप्रकाश बाँस्कोटा, दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत, उपप्रमुख वसन्ती डङ्गोल तामाङ्, अभियानकर्मी राजलवटलगायतले गुर्जोजस्ता जडिबुटीबाट औषधि बनाएर उपयोग गर्न सकिनेमा जोड दिएका थिए। 

 विश्वव्यापी महर्षि अभियानका १२ क्षेत्रमध्ये आयुर्वेद पनि पर्ने भएकाले गुर्जोजस्ता वनस्पतिको संरक्षणमा काम गरिने पूर्वमन्त्री बाँस्कोटाको प्रतिबद्धता छ। ग्राममा भावातीत ध्यान शिक्षक प्रशिक्षण, ज्योतिष, वैदिक यज्ञलगायत गरिनुका साथै यस क्षेत्रका विषयमा अध्ययन अनुसन्धानसमेत गरिने जनाइएको छ। 

प्रकाशित मिति: : 2021-07-26 19:59:00

प्रतिकृया दिनुहोस्