बाघको संरक्षणसँगै राष्ट्रको जैविक विविधता र पर्यटन प्रवद्र्धनमा प्रधानमन्त्रीको जोड

Photo - Rss
Photo - Rss

प्रधानमन्त्री शेरबहादुर देउवाले बाघ संरक्षणका लागि उसको बासस्थान र पर्यावरण संरक्षण अपरिहार्य भएको बताएका छन्।

विश्व बाघ दिवसका सन्दर्भमा राष्ट्रिय बाघ संरक्षण समितिले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले जैविक पर्यावरण र पारिस्थिकीय प्रणालीलाई सन्तुलित राख्न बाघको अहम् भूमिका रहेको वास्तविकता सुनाउँदै बाघको बासस्थानको संरक्षणमा मानव समुदायले विशेष ध्यान दिनुपर्ने बताए।

प्रधानमन्त्री देउवाले बाघको बासस्थान संरक्षण तथा वन्यजन्तुको चोरी शिकारी र निकासी नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै बाघ संरक्षणका लागि स्थानीयवासीलाई नै परिचालन गर्न सुझाव दिए।

उनले वन्यजन्तु संरक्षणमा स्थानीयवासीलाई रोजगारीका अवसर पनि सिर्जना हुने भएकाले विकास पूर्वाधारका कारण प्रभावित बासस्थल संरक्षणमा ध्यान दिइने बताए। उनले भने, 'वन्यजन्तु मैत्री पूर्वाधार निर्माणका लागि आवश्यक मापदण्ड तर्जुमा गरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ।'

प्रधानमन्त्रीले पाटे बाघका कारण प्रसिद्ध नेपालमा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनको माध्यम बन्नसक्ने बताउँदै बाघ र उसको बासस्थानका साथै पर्यापर्यटनको विकासमा लाग्नुपर्ने औँल्याए।

नेकपा एमालेका नेता माधवकुमार नेपालले वातावरण संरक्षणका लागि हिमाली देशको छुट्टै सङ्गठन बनाउन आवश्यक धारणा व्यक्त गर्दै जलवायु परिवर्तन र वातावरण संरक्षणका क्षेत्रमा त्यस्तो सङ्गठन आवश्यक भएको अभिमत पोखे।

पूर्वप्रधानमन्त्री नेपालले आफ्नो प्रधानमन्त्रीकालदेखि थालिएको बाघ संरक्षण अभियान सफल भएकोमा खुशी हुँदै सन् १९१२ मा रसियामा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनले अघिसारेका रणनीति बाघ संरक्षणमा उपयोगी हुने बताए।

पूर्वमन्त्री दीपक बोहोराले नेपालले अन्तरराष्ट्रिय साझेदारी संस्थासँगको समन्वय र सहकार्यबाट बाघ संरक्षणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै जलवायु परिवर्तनको जोखिमबाट बाघलगायत लोपोन्मुख पशुपंक्षीको संरक्षणका निम्ति चुनौती खडा भएको उल्लेख गरे।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले  बाघ संरक्षणमा नेपालले सफलता पाएको बताउँदै बाघको सङ्ख्या दोब्बर हुनु त्यो सफलता भएको जानकारी दिए।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाल–भारतका साथै सरोकारवाला अन्य मुलुकसँगको समन्वय र सहकार्यबाट बाघ संरक्षणमा भारतले उल्लेखनीय योगदान गरेको सुनाउँदै विश्वमा रहेका बाघको कूल सङ्ख्याको ७५ प्रतिशत बाघ भारतमा रहेको तथ्य प्रस्तुत गरे। सन् १९७३ मा भारतमा ९ बाघ संरक्षण क्षेत्र रहेकामा अहिले त्यो बढेर ५०  संरक्षण क्षेत्रमा पुगेका उनले बताए।

यहाँस्थित रुसि महासङको दूतावासका प्रमुख भिक्टर भि इभ्सिभले नेपालले बाघ संरक्षणका लागि गरेका प्रयासको प्रशंशा गर्दै जैविक विविधता संरक्षणका लागि बाघ संरणमा सरोकारवाला मुलुकको सहकार्य जरुरी भएको बताए।

नेपालमा बाघको सङ्ख्या दोब्बर : संरक्षण चुनौती

विश्वका बाघ पाइने नेपालसहित १३ वटा मुलुकका प्रमुखको सहभागितामा रुसको सेन्ट पिटर्सवर्गमा सन् २०१० मा विश्व बाघ सम्मेलन भएको थियो। सम्मेलनमा नेपालले पनि बाघको सङ्ख्या सन् २०२२ सम्म १२१ बाट दोब्बर बनाइ २५० वटा पु¥याउने प्रतिबद्धता जनाएको थियो।

सन् २०१८ को गणनाअनुसार नेपालमा बाघको सङ्ख्या २३५ पुगेको छ। सोही सम्मलनमा गरिएको घोषण अनुरुप आजैका दिनलाई बाघ पाइने मुलुकले विश्व बाघ दिवस मनाउने गरेका छन्। यो वर्ष ‘बाघको अस्तित्वः मानवको दायित्व’नाराका साथ नेपालले पनि विश्व बाघ दिवस आयोजना गरेको हो। सन् २०१० मा नेपालमा १२१ बाघ रहेकोमा हाल २५० बाघ पुगेको छ।

वन तथा वातावरण मन्त्रालयका सचिव प्रेमनारायण कँडेलले जैविधि विविधताको व्यवस्थापन, बास, आहार व्यवस्थापनले नेपालमा बाघको सङ्ख्या बढेको बताए।

उनका अनुसार विश्वभर तीन हजार ९०० बाघ छन्। पाटे बाघ नेपाल, भारत, बङ्गलादेश र भुटानमा मात्रै पाइन्छ। विश्वमा नौ प्रजातिका बाघ पाइए पनि अहिले छ प्रकारका बाघ पाइन्छ। तीन प्रजाति लोप भइसकेका छन्।

उनले नेपालमा बाघको सङ्ख्या २५० नाघिसकेको अनुमान गरिएको र संरक्षण व्यवस्थापनका साथै कति सङ्ख्या पु-याउने भन्ने स्पष्ट रणनीतिका साथ अघि बढ्नुपर्ने धारणा राखे। बाघमा रेडियोयन्त्र राखेर उसको गतिविधि अध्ययन भइरहेको र प्रतिमहिना औषतमा एक जना मान्छेलाई बाघले आक्रमण गर्ने गरेको प्रकृति संरक्षण कोषले जनाएको छ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि उपस्थित थिए।

प्रकाशित मिति: : 2021-07-29 17:06:00

प्रतिकृया दिनुहोस्