देशभरका अस्पतालहरूमा अक्सिजनको हिसाबकिताब

अनलाइनखबर

काठमाडौँ

 

प्रेम लामा

घटना–१ : २८ वैशाख २०७८ मा राति अक्सिजन अभाव हुँदा रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत चार जना कोभिड–१९ संक्रमितको मृत्यु भयो । सिलिण्डरमा भरेर ल्याइने अक्सिजन समयमा नआइपुग्दा आकस्मिक कक्ष र एचडीयूमा उपचाररत विरामीले ज्यान गुमाएका थिए । त्यही अस्पतालमा २९ गते थप ७ जनाले आक्सिजन अभावमै ज्यान गुमाए।

घटना–२ : ३० वैशाखमा ट्रमा सेन्टर, काठमाडौंका निर्देशक सन्तोष पौडेलले सामाजिक सञ्जालमा लेखे, राष्ट्रिय ट्रमा सेन्टरमा १०५ जना बिरामी अक्सिजनको सहायताले उपचाररत छन् । एम्बुलेन्समार्फत अक्सिजन ओसार्दा पनि बिहान ७ बजेसम्मका लागि मात्र अक्सिजनको व्यवस्था गर्न सकियो । अब तत्काल अक्सिजन व्यवस्था गर्न नसकिए भगवान भरोसामा छौं !

घटना–३ : १३ जेठको मध्यरातिदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसोलेसनमा अक्सिजन अभाव भयो । विरामीका आफन्तले भोलिपल्ट विहानसम्म अक्सिजन जोहो गर्न नसक्दा सुत्केरीसहित छ जनाले ज्यान गुमाए ।

कोरोना महामारीको दोस्रो लहर उत्कर्षमा पुगेका बेला देशभरका अस्पतालमा अक्सिजनको चरम अभाव भयो । कोरोना संक्रमण भएर गम्भीर अवस्थामा अस्पतालमा पुगेका थुप्रै संक्रमितले आईसीयू–भेन्टिलेटर सुविधा त धेरै परको कुरा, अक्सिजन समेत पाएनन् । चिकित्सकहरुका अनुसार त्यसबेला धेरै संक्रमितको मृत्यु हुनुमा हाई–फ्लोमा अक्सिजन दिन नसक्नु मुख्य कारण थियो ।

अक्सिजन अभाव कम गर्न चीनले २० हजार अक्सिजन सिलिण्डर अनुदानमा दियो भने विदेशमा भएका नेपालीहरुले पनि सिलिन्डर किनेर पठाए । कतिपय देश र अन्तर्राष्ट्रिय संघसंस्थाले अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराए । संक्रमण पनि क्रमशः घट्दै गएपछि दोस्रो लहरमा अक्सिजन अभाव टर्‍यो ।

तर अहिले फेरि अस्पतालहरुमा गम्भीर बिरामीहरुको संख्या बढ्न थालेको चिकित्सकहरु बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि अर्को लहर आउन सक्ने सम्भावना आँकलन गर्दै तयारी अवस्थामा रहन निर्देशन दिएको बताएको छ ।

प्रकाशित मिति: : 2021-08-01 22:18:00

प्रतिकृया दिनुहोस्