अर्थसचिवमा मधु मरासिनी, शिशिर ढुङ्गाना प्रधानमन्त्री कार्यालय सरुवा 

महालेखा नियन्त्रकको भूमिकामा रहेका सचिव मधुकुमार मरासिनीले सोमवार अर्थसचिवको रुपमा पद बहाली गरेका छन्।

लामो समयदेखि अर्थसचिवका रुपमा काम गरिरहेका शिशिरकुमार ढुङ्गानालाई सरुवा गरी प्रधानमन्त्री कार्यालयको सचिवका रुपमा पठाइएको छ।

अर्थ मन्त्रालयमा सोमबार एक कार्यक्रम आयोजना गरी अर्थमन्त्री जनार्दन शर्माले मरासिनीको स्वागत र ढुङ्गानाको बिदाइ गरेका छन्। सचिव ढुङ्गाना आगामी छ महिनापछि सेवानिवृत्त हुने छन्।

उक्त कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिए।

अर्थमन्त्री जनार्दन शर्माले नवनियुक्त अर्थसचिव मरासिनीलाई अबका दिनमा थोरै समय मात्र सुतेर बाँकी सम्पूर्ण समय आफूसँगै रहेर मन्त्रालयको काममा खट्न पनि आग्रह गरे।

आन्तरिक स्रोत बढाउने र ऋण तथा व्यापार घाटा घटाउने मुख्य कार्यभार सम्पन्न गर्न निकै मेहेनत गर्नुपर्ने भन्दै मन्त्री शर्माले अन्य विभागीय प्रमुखसहित सबै कर्मचारीहरुलाई समेत सोही भावना मनन गर्न निर्देशन दिए।

‘मन्त्रालयमा टेबुल–टेबुलको शासन चलाएर हुँदैन, अत्यावश्यकीय महत्वपूर्ण विषयहरुमा एउटै टेबुलमा बसेर छिटो छिटो काम गर्नुपर्छ,’ अर्थमन्त्री शर्माले भने, ‘मन्त्रीले जानेर वा अञ्जानमा देशलाई घाटा हुने कुनै कुरा ग-यो भने त्यसलाई सीधै हुँदैन भन्न सक्नुपर्छ, म त्यस्तो कर्मचारी चाहन्छु।’

कार्यक्रममा नवनियुक्त अर्थसचिव मरासिनीले साना तथा मझौला उद्योगको प्रवद्र्धनमार्फत् रोजगारी वृद्धि गरेर अर्थतन्त्र चलायमान बनाउने दिशामा मेहनतपूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

जापानी अर्थतन्त्रमा साना तथा मझौला उद्योग व्यावसायले ७० प्रतिशत योगदान गरेको प्रसङ्ग उल्लेख गर्दै सचिव मरासिनीले यस्ता उद्योगले देशमा बेरोजगारी र गरिबीको अन्त्य गर्न सहयोग पु-याउने धारणा व्यक्त गरे।

कार्यक्रममा अर्थ मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएका सचिव ढुङ्गानाले कोभिड–१९ को कारण अर्थतन्त्रमा परेको नकारात्मक असरहरु बिस्तारै घट्दै गइरहेको भन्दै चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताए।

महामारीकै बीच राजश्व संकलनको लक्ष्य ९२ प्रतिशत पूरा भएको, १० महिनाको कारोबार धान्नसक्ने गरी वैदेशिक मुद्राको सञ्चिति रहेको, विप्रेषण वृद्धि हुनुको साथै औपचारिक च्यानलमा आएको, निर्यात वृद्धि भएको लगायतका सकारात्मक परिसूचकहरुसहित आफूले जिम्मेवारी हस्तान्तरण गरेको बताए।

अर्थ मन्त्रालय र मातहतका निकायहरुमा १३ वर्ष ९ महिना काम गरेका सचिव ढुङ्गानाले आगामी दिनमा सामना गर्नुपर्ने चुनौतीहरुको बारेमा चर्चा गर्दै अन्तरसरकारी वित्तीय हस्तान्तरणलाई व्यवस्थित गर्नुपर्ने, सार्वजनिक संस्थानहरुको व्यवस्थापन, सैनिक कल्याणकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतसँग रहेका ठूला कोषहरुको सन्तुलित व्यवस्थापन, पूँजी बजारमा डिबेन्चर मार्केटको प्रवद्र्धन, आन्तरिक स्रोत व्यवस्थापन, पुँजीगत खर्च बृद्धिलगायतमा ध्यान केन्द्रीत गर्नुुपर्ने सुझाव दिएका थिए।

स्वागत तथा बिदाई कार्यक्रमको सहजीकरण गर्दै राजश्व–सचिव रामशरण पुडासैनीले अनुभवी र योग्य सचिव शिशिरकुमार ढुङ्गानाको बिदाइले अर्थ मन्त्रालयमा सिर्जना हुनसक्ने अन्तरलाई २५ वर्ष अर्थ मन्त्रालय र सम्वद्ध निकायमा काम गरेको अनुभव सँगालेका योग्य सचिव मधुकुमार मरासिनीको आगमनले पूर्ति गर्ने विश्वास व्यक्त गरे। राजश्व–सचिव पुडासैनी पनि यही साउन २४ गते शनिवारदेखि सेवा निवृत्त हुँदैछन्।

प्रकाशित मिति: : 2021-08-02 15:47:00

प्रतिकृया दिनुहोस्