तिर्खाएको काठमाडौंले अब मेलम्चीको विकल्प खोज्नुपर्ने

सेतोपाटी

काठमाडौं

तिर्खाएको काठमाडौं उपत्यकाका लागि मेलम्ची खानेपानी आयोजना ‘भरपर्दो’ विकल्प नबन्ने देखिएको छ। 

निर्माण सुरू गर्नुअघिका अध्ययनहरूले जुगल हिम श्रृंखला नै पानीको मुख्य स्रोत भएकाले मेलम्ची आयोजना बाह्रैमास काठमाडौंमा पानी ल्याउन मिल्ने आयोजनाका रुपमा पहिचान गरेको थियो।

दैनिक २१ करोड लिटर पानी काठमाडौं ल्याउने सक्ने भनिएको आयोजना निर्माण सम्पन्न हुनै लाग्दा बाढीले अनिश्चयमा धकेलेको छ।

असार १ र साउन १६ गते जुगल हिम श्रृंखलाबाटै सुरू भएको बहुप्रकोपले आयोजना तहसनहस पारेको छ। आयोजनाको अम्बाथानस्थित सुरुङभित्र पानी पठाउन निर्माण भइरहेको ‘हेडवर्क्स’का संरचना भेलबाढीले पुरिएका छन्। गत चैतमा काठमाडौंमा पानी पठाउन प्रयोग गरिएको अस्थायी सुरुङमा बाढी पसेको छ। अम्बाथानस्थित मर्मत-सम्भार र चेकजाँचमा प्रयोग हुने अडिट सुरुङको नामनिशानै हराएको छ। 

अडिट टनेलको नामनिशान हराएपछि मेलम्चीको सुरुङमा १७ दिन लगाएर हालिएको पानी बाहिर निकाल्ने काम प्रभावित भएको छ। गत असार १ गते मेलम्चीको सुरुङ मर्मत-सम्भारका लागि बन्द गरिएको थियो। सुरुङ बन्द भएसँगै मेलम्ची सुरुङभित्र रहेको पानी बाहिर निकाल्ने काम भएको थियो।

अहिलेसम्म काठमाडौंको सुन्दरीजल र सिन्धुपाल्चोकका सिन्धुखोला र ग्याल्थुम खोलाबाट सुरुङभित्रको पानी बाहिर पठाइएको छ। तर गेगरानसहितको भेलबाढीपछि पानी बाहिर निकाल्नुपर्ने अम्बाथानमै रहेको ‘अडिट टनेल’ क्षेत्र पुरिएको छ। अम्बाथान पुगेका मेलम्ची खानेपानी आयोजनाका प्राविधिकहरूका अनुसार त्यो सुरुङ कुन ठाउँ थियो भन्ने पत्ता लगाउन जिपिएस लोकसेन नै हेर्नुपर्ने अवस्था छ।

प्रकाशित मिति: : 2021-08-09 19:34:00

प्रतिकृया दिनुहोस्