प्राविधिकसहितका कर्मचारी नहुँदा काम गर्नै मुस्किल

Symbolic photo
Symbolic photo

विद्युतको लाइन विस्तारसँगै आवश्यक प्राविधिकको अभावले काम गर्न  नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालयमा समस्या हुँदै आएको छ।

एघार केभी प्रसारण लाइन जिल्ला सदरमुकाममा ल्याउँदै गर्दा १७ कर्मचारीले धानेको काम अहिले लाइन विस्तार तीव्र भइरहँदा कर्मचारीको सङ्ख्या  घटेर १३  पुगेको छ।

कूल ३० जनाको दरबन्दी भए पनि हाल १३ जना कर्मचारी कार्यरत छन्। तीमध्ये पाँच करार, पाँच ज्यालादारी, तीन स्थायी कर्मचारी कार्यरत रहेको जाजरकोट शाखा प्रमुख विशाल लामिछानेले बताए। 

हाल सदरमुकाममा मात्र कार्यालय रहेकाले गाउँमा लाइन विस्तार भएसँगै त्यहाँका उपभोक्तालाई सदरमुकामसम्म आएर शुल्क बुझाउन समस्या भएको छ। 

रु १०० सय  शुल्क तिर्नका लागि एक हजार खर्च गर्नुपर्ने बाध्यता छ। अहिले छेडागाड नगरपालिकाको मोर्क, नलगाड नगरपालिकाको दल्लीमा नयाँ उपशाखा खोल्ने तयारी भए पनि कर्मचारी नहुँदा समस्या हुँदै आएको छ। लाइन विस्तारको काम तीव्र भए पनि कर्मचारी अभावले गर्दा काम गर्न समस्या हुँदै आएको छ। 

 जाजरकोट, सुर्खेतको आधा भाग, सल्यानको आधा भागसमेत यहाँको विद्युत् प्राधिकरण कार्यालयले नै मर्मत तथा लाइन विस्तारको काम गर्नुपरे पनि सवारीसाधनको नाममा एकथान मोटरसाइकल तथा एकथान थोत्रो गाडी रहेको र स्थलगत कामका लागि पनि व्यक्तिगत सवारीसाधन प्रयोग गरेर खटिनुपरेको कार्यालयका कर्मचारीको गुनासो छ प्रदेशबाट गरिएका ठेक्कामा चरम लापर्बाही भएका कारण काममा ढिलासुस्ती हुँदै आएको छ। पहुँचको भरमा ठेक्का लिने तर बीचमै छोड्दा तोकिएको समयमा काम हुन नसकेको उपभोक्ताको भनाइ छ। 

प्रकाशित मिति: : 2021-08-12 21:55:00

प्रतिकृया दिनुहोस्