औद्योगिक क्षेत्रमा खोप अभियान शुरु

File photo
File photo

गण्डकी प्रदेशको एक मात्र पोखरा औद्योगिक क्षेत्रमा रहेका उद्यमी व्यवसायी र मजदूरलाई लक्षित गरी औपचारिकरुपमा कोभिड–१९ विरुद्धको खोप अभियान थालिएको छ। 

औद्योगिक क्षेत्रस्थित खोप केन्द्रको आज निरीक्षण गर्दै गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा र कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले त्यहाँको वस्तुस्थिती बारेमा जानकारी लिएका छन्। 

निरीक्षणका क्रममा औद्योगिक क्षेत्रमा रहेका व्यवसायी र मजदूरलाई क्रमशः सबैलाई खोप लगाउने बताउँदै पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री शर्माले व्यवसाय आम जीवनसँग जोडिने विषय भएकाले आफूले प्राथमिकतामा राखेको बताए। 

त्यस्तै कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री थापाले औद्योगिक क्षेत्रले महामारीका समयमा अत्यावश्यक खाद्यान्न तथा अक्सीजनजस्ता सामग्री उत्पादन गरेकोमा धन्यवाद व्यक्त गर्दै उद्योगी व्यवसायीको पिर मर्का बुझ्नुपर्ने बताए। 

पोखरा औद्यौगिक क्षेत्र उद्योग सङ्घका अध्यक्ष सुरेशबहादुर श्रेष्ठले खोप अभियान सुरुआत् भएकोमा खुशी व्यक्त गर्दै उद्योग क्षेत्रको विकासमा गण्डकी प्रदेश सरकारले थप ध्यान दिनु आवश्यक भएको बताए। 

पोखरा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष गोर्कण कार्कीले वर्तमान सरकारले विषयगतरुपमा खोपको व्यवस्थापन गरी उद्यमी व्यवसायी र मजदूरको हौसला बढाएकोमा आभार व्यक्त गरे। 

कोभिड–१९को महामारी चलिरहँदा पनि औद्योगिक क्षेत्रको गतिविधी सुरक्षित तरिकाले सञ्चालन भइरहेको र पूर्वसावधानीको लागि खोप कार्यक्रमले मजदूर तथा व्यवसायी, कर्मचारी उत्साही भएको कामु क्षेत्र प्रबन्धक भूषणकुमार उपाध्यायले जानकारी दिए। 

करिब तीन हजारको हाराहारीमा उद्यमी, व्यवसायी र मजदूर रहेको औद्योगिक क्षेत्रमा आज एक हजार जनालाई खोप लगाइएको छ। 

प्रकाशित मिति: : 2021-08-13 19:14:00

प्रतिकृया दिनुहोस्