जुम्लामा खुल्याे मास्क बैंक

उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुरिचन्द्र देवकोटासहितको टोली जुम्ला बजारको कृष्ण मन्दिरनेर उभिएर बजारमा ओहोरदोहोर गरिरहेका मान्छे हेरिरहेका छन्।

मुखमा माक्स लाए, नलाएको हेरिरहेका छन्। जसले मास्क लगाएका छैनन् उनीहरुलाई टेबुलमा राखिएको मास्क लगाउन विनम्र अनुरोध गरिरहेका छन्।

यो दृश्य केही दिन अघि जुम्लामा स्थापना भएको माक्स बैंकको हो। जहाँ मास्क नहुनेले लिनेछन् भने हुनेले राखेर सहयोग गर्नेछन्।

कोरोना संक्रमणको दर बढ्न थालेपछि जुम्लामा स्थापना भएको मास्क बैंक प्रभावकारी बन्दै गएको छ। कोही पनि नागरिक मास्कविहीन नहुन् भन्नका लागि सदरमुकाम खलंगाको बालमन्दिर नजिकै मास्क बैंक स्थापना गरिएको हो।

‘मास्क हुनेले मास्क दिनुस्, नहुनेले लिनुस्’ भन्ने मान्यतासहित बैंक स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले जानकारी दिइन्।

सदरमुकाम खलंगाको मुख्य बजारमा मास्क बैंक स्थापना भएकोले मास्कको प्रयोग बढ्ने अनुमान गरिएको थियो। सोही अनुसार मास्क लगाउने बढिरहेको व्यापारी देवेन्द्र शाहीले बताए।

सरकारले सुरु गरेको ‘नेपाल माक्स अभियान’ अन्तर्गत जुम्लामा मास्क बैंक स्थापना गरिएको हो। जिल्ला कोभिड १९ संकट व्यवस्थापनको सक्रियतामा मास्क बैंक स्थापना भएको हो। बैंकलाई प्रभावकारी बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय र जिल्ला जनस्वास्थ्य सेवा कार्यालयसहित सरोकारवालाहरुको समन्वय भइरहेको छ।

मास्क किन्न नसक्ने र हतारमा लगाउन बिर्सेका नागरिकलाई लक्षित गरेर बैंक स्थापना गरिएको हो। मास्क नहुनेलाई हुनेले सघाउने बानीको विकास गर्न पनि बैंक प्रभावकारी हुने प्रजिअ प्रसाईंले थपिन्।

‘अब बजारमा आउने सबैको मुखमा मास्क हुनुपर्छ भन्ने देखिएको छ। मास्क किन्न नसक्नेले बालमन्दिरमा गएर लगाउन सक्नेछन्। हुनेले बैंकमा माक्स प्रदान गर्न सक्नेछन्’, उनले भनिन्, ‘कोरोना रोकथाम तथा नियन्त्रणसँग जोडिएको सही रुपमा सदुपयोग गर्नुपर्छ। मास्कको प्रयोग गरेर कोरोनाबाट बच्न सकिन्छ।’

कतिले मास्क भएर नलगाए पनि केहीले मास्क किन्ने रकम नहुँदा लगाउन नपाउने हुनाले पनि स्थापना गरिएको मास्क बैंक पछिल्लो समय प्रभावकारी बन्दै गएको चन्दननाथ-७ मिचाका राम बहादुर नेपालीको अनुभव छ।

‘कहिलेकाहीँ मास्क लगाउन भुलिन्छ। बजारमा भिडभाड हुँदा जोखिमको डर हुन्छ’, उनले भने, ‘मैले पनि यहीँबाट मास्क लिएर लगाए। यो साह्रै राम्रो काम भएको छ।’

उनको जस्तै अनुभव छ जुम्ला बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्रीको। उनले यो उपायले मास्क लगाउन बानी परेका, बानी नपरेका र मास्क किन्ने पैसा नहुने सबैलाई उपयोगी हुने बताए।

‘म बिहान परीक्षा चलाउन क्याम्पस जान लागेको थिए। तर बाइक चड्ने बेला हतारमा मास्क छुटेछ’, उनले भने, ‘उहाँहरुले रोकेर मास्क लगाउन अनुरोध गर्नुभयो। त्यसपछि मात्र थाहा भयो मैले मास्क लगाएको रहेनछु। यो साह्रो राम्रो काम लाग्यो मलाई।’

हाल मास्क बैंक सशस्त्र प्रहरीले निगरानी गरिरहेको छ भने अरुले सहयोग गरिरहेका छन्। सशस्त्र प्रहरीले मुख्य बजार क्षेत्रमा प्रवेश गरेका मास्क नहुनेलाई उपलब्ध गराउने र लगाउन उत्साहित गराइरहेको छ।

मास्क बैंकमा जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले सुरुमा मास्क राखेको थियो। त्यसपछि बजारका मनकारी व्यवसायीले सहयोग गरिरहेका छन् भने जिल्लामा क्रियाशील संघ संस्थाको सक्रियता पनि बढिरहेको छ।

मास्क बैंक स्थापनाले हरेक नागरिकलाई मास्क अनिवार्य भन्ने मान्यताका साथ स्थापना भएको बैंकले आफ्नो प्रभावकारिता बढाइरहेको उद्योग वाणिज्य संघका उपाध्यक्ष देवकोटाले बताए।

‘अब कोही पनि मास्क नभएर लगाउन नसकेको वा भुलेको बाहना गर्न पाउने छैनन्’, उनले भने, ‘सबैले मास्क लगाउन थालेपछि जुम्ला सुरक्षित हुनेछ।’

माक्स बैंकमा मास्क जम्मा गर्न जिल्ला स्थित सरकारी तथा गैरसरकारी संघ संस्था, व्यापारी, व्यवसायी, उद्योगीलगायत सबै सहयोगी मनहरुलाई अपिल गरिए अनुसार नै सहयोग भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-08-15 17:30:00

प्रतिकृया दिनुहोस्