आर्थिक रुपान्तरणबारे राप्रपाका अध्यक्षत्रयसँग छलफल, ‘नेट २०३०’ को सफल कार्यान्वयनमा उद्योग–वाणिज्य महासंघ अध्यक्ष गोल्छाको जोड

नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन जना अध्यक्षहरुसँग मंगलबार छलफल गरेको छ। राष्ट्रिय आर्थिक रुपान्तरण भिजन पेपरलाई प्रभावकारी कार्यान्वयनमा लैजाने क्रममा राजनीतिक दलहरूसंगको छलफललाई अगाडि बढाएको हो। सोही क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरूसँग टेकुस्थित महासंघको सचिवालयमा छलफल भएको हो। 

उक्त छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रउ कमल थापा, पशुपतिशमसेर जबरा र डा. प्रकाशचन्द्र लोहनी सहभागी थिए। नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट अध्यक्ष शेखर गोल्छा,  वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष अञ्जन श्रेष्ठ, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, राप्रपाको आर्थिक समितिका संयोजक उद्धव पौडेल र कार्यसम्पादन समितिका सदस्य मोहन श्रेष्ठ सहभागी थिए। 

छलफलमा महासंघका अध्यक्ष गोल्छाले ‘भिजन पेपर’ बारे विस्तृत जानकारी गराउँदै त्यसको सफल कार्यान्वयनमा महासंघले सबै राजनीतिक दलहरूको सहयोग खोजेका बताए। 

गोल्छाले भने, ‘मुलुकको अर्थतन्त्र एक सय अर्ब अमेरिकी डलर पुर्याउने, थप २३ लाख अतिरिक्त रोजगारी सिर्जना गर्ने र जीडीपीको अनुपातमा व्यापार घाटा आधा घटाउने मुख्य लक्ष्यका साथ ल्याइएको ‘नेट २०३०’ को सफल कार्यान्वयन सरकार, सबै राजनीतिक दलहरू, निजी क्षेत्रको संयुक्त सहयोग र सहकार्यबाट मात्र सम्भव हुने स्पष्ट पारे। 

सरकारको वार्षिक बजेट तथा राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत् आएका कतिपय कार्यक्रम तथा नीतिहरू भिजन पेपरको कार्यान्वयनलाई सहज बनाउने खालको आएको पनि गोल्छाले स्पष्ट पारे। 

भिजन पेपरको सफल कार्यान्वयनका लागि महासंघले एक सय वटा प्रयासहरूको पहिचान गरेको र तीमध्ये करिब आधा जतिको कार्यान्वयनको थालनी भइसकेको पनि बताए।  

कोभिड १९ ले थला परेको अर्थतन्त्रलाई माथि उठाउन उद्योग व्यवसायको पुनरुत्थान र नयाँ थप उद्योग व्यवसाय विस्तार आवश्यक भएकोमा अध्यक्ष गोल्छाले जोड दिए। उनले उद्योगधन्दा विस्तारका लागि विशेष गरी लगानी तथा व्यापार व्यवसाय प्रवद्र्धनमा वाधा बनेका करिव डेढ दर्जन पुराना ऐन कानूनहरूको तत्काल संशोधन तथा पुनरलेखनमा महासंघले सरकारलाई सुुझाएको बताए।

सरकार र नेपाल राष्ट्र बैंकको उचित सहयोगका कारण पहिलो कोभिड लहरपश्चात केही क्षेत्रबाहेक अन्य क्षेत्रहरू सहज रुपमा माथि उठन सके पनि दोस्रो लहर अर्थतन्त्रका लागि बढी घातक हुन पुुगेको स्पष्ट पारेका  थिए।

अध्यक्ष गोेल्छाले भने, अर्थतन्त्रलाई अहिलेको संकटबाट माथि उठाउन सरकारले ल्याएका नीति तथा कार्यक्रम र महासंघले भिजन पेपर मार्फत अगाडी सारेका कार्यक्रम तथा सुुझावहरूको पूर्ण कार्यान्वयन निजी क्षेत्रले खोेजेको र त्यसमा राजनीतिक दल तथा सरकारका तर्फबाट पूर्ण सहयोग रहने विश्वास महासंघको छ।

सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट तीनै जना अध्यक्षहरुले आफ्नो दल यतिखेर आर्थिक नीति बनाउने तयारीमा रहेकाले निजी क्षेत्रसंग सल्लाह सुुझाव लिने उद्देश्यले महासंघको नेतृत्वसँग छलफल गर्न आएको जानकारी गराए। 

महासंघले अगाडी सारेको भिजन पेपर र त्यसले लिएका लक्ष्यहरु निकै नै महत्वपूर्ण रहेको र यो दस्तावेज सरकार तथा सवै राजनीतिक दलहरुका लागि समेत अत्यन्त महत्वपूर्ण रहेको भन्दै यसको सफल कार्यान्वयनमा आफ्नो दलको तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाए।  

राप्रपा दल निजी क्षेत्रमैत्री रहेकोमा विश्वस्त हुन आग्रह गर्दै निजी क्षेत्र मैत्री वातावरण भयो भने मात्र मुलुकुभित्र उद्योग धन्दा विस्तार हुने, रोजगारी सृजना हुने, वाह्य लगानी आउनेमा आफूहरू स्पष्ट रहेको उनीहरूले बताए। 

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन आवश्यक रहेको बताए। निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमुुल परिवर्तन, नीतिगत स्थिरता आवश्यक रहेकोमा जोड दिए। महत्वपूर्ण ऐन कानून बनाउंदा सरोकारवालाहरूलाई साथै लिएर बनाउनुपर्ने र मुलुकभित्र लागू भएका ऐन कानून सबैलाई बराबरी लागू हुनुुपर्ने सुुझाव उनीहरूको थियो।

कार्यक्रममा महासंघको कायकारिणी समितिका सदस्यहरू दिलसुन्दर श्रेष्ठ र सुरकृष्ण वैद्य, महासंघका निमित्त महानिर्देशक गोकर्णराज अवस्थी, उपनिर्देशक विदुरचन्द्र लामिछानेको उपस्थिति थियो।

प्रकाशित मिति: : 2021-08-18 06:16:00

प्रतिकृया दिनुहोस्