‘दोष ओलीको हो एमालेको होइन, माधव नेपालले बुझ्नुपर्थ्यो’

अनलाइनखबर

काठमाडौं

गत चैत १९ गते पोखरामा नेकपा एमाले कास्की जिल्लाको समानान्तर कमिटी घोषणा गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले भनेका थिए, ‘केपी ओलीबाट सबैभन्दा पीडित प्रदेश हो, गण्डकी प्रदेश । ठूलो त्याग, संघर्ष गरेका धेरैलाई टिकट दिइएन । अब म दिन्छु टिकट, चुनाव लड्न तयार रहनू ।’

हुन पनि गण्डकी प्रदेशमा एमालेको नेपाल समूह अत्यन्तै कमजोर छ । यहाँबाट एक जना पनि संघीय सांसद नेपाल समूहका छैनन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २७ सांसदमध्ये बागलुङका इन्द्रलाल सापकोटामात्र नेपाल समूहका हुन् ।

केन्द्रीय सदस्य तथा पूर्व सांसद श्रीमाया थकाली भन्छिन्, ‘ओली समूहले गण्डकी प्रदेशमा जहिल्यै बलमिच्याइँ ग-यो, (चुनावमा) टिकटै दिएन । जिल्लाबाटै सिफारिस नहुने, सिफरिस भइहाले प्रदेश र माथि पुग्दा काटिने । राम्रा नेता पनि यहाँ हेपिनुपरेको छ ।’

बुधबार दल विभाजनलाई सहज हुने गरी अध्यादेश जारी भएपछि नेता नेपालले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । आगामी चुनावमा अब उनी आफैं टिकट बाँड्ने ठाउँमा रहनेछन् । तर, यतिन्जेल साथ दिएका गण्डकीका धेरै नेताहरुले भने नेपालको साथ छाडेका छन् ।

नेता नेपालले दर्ता गरेको नयाँ पार्टीमा कास्कीका चुणामणि विक जंगली, तुलबहादुर गुरुङ, श्रीनाथ बराल, दिलकुमारी पन्त, तनहुँका प्रतापलाल श्रेष्ठ, पर्वतका विजय गुरुङ, स्याङ्जाकी शर्मिलादेवी पौडेल र तनहुँकी रेखा बस्याल समेटिएका छन् ।

प्रकाशित मिति: : 2021-08-19 17:01:00

प्रतिकृया दिनुहोस्