ओमान क्रिकेट सिरिजकाे लागि नेपाली टोलीमा समावेश भए यी खेलाडीहरु

Photo : Hamrokhelkud.com
Photo : Hamrokhelkud.com

नेपाल क्रिकेट सङ्घ (क्यान)ले ओमानमा हुने विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ।

टोलीमा गुल्सन झालाई पहिलोपटक समेटिएको छ। नेपाल, ओमान र अमेरिका बीचको त्रिकोणात्मक क्रिकेट सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा आज १७ सदस्यीय टोलीको घोषणा गरिएको हो। बन्द प्रशिक्षणमा रहनुभएका कमलसिंह ऐरी र साहब आलम टोलीमा अटाउन सकेनन्।

नेपाली टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषवाकर र विक्रम सोव रहेको क्यानका सचिव अशोकनाथ प्याकुर्‍यालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

यस्तै टोलीमा मुख्य प्रशिक्षक डेभ वाटमोर, व्यवस्थापक  मोहम्मद दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमन शिवाकोटी, फिजियो विक्रम न्यौपाने र ट्रेनर  राकेश काशिभाइ गोहित रहेका छन्।

टोली आगामी मङ्गलबार ओमान प्रस्थान गर्नेछ। ओमान सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म सञ्चालन हुनेछ। त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई–दुई खेल खेल्नेछ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको सिरिज अघि नेपालले यही भदौ २० र २३ गते ओमानमा पपुवा न्युगिनीसँग एकदिवसीय खेल खेल्ने तय भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। 

प्रकाशित मिति: : 2021-08-21 17:39:00

प्रतिकृया दिनुहोस्