नेपालकाे सांगीतिक क्षेत्रमा गायनका विभिन्न 'रियालिटी शाे'हरूले इट्टा थप्दै गएका छन्।
यसैबीच चर्चित रियालिटी शाे 'नेपाल आइडल'को चाैथाे सिजन सुरू हुन लागेकाे छ। जसकाे लागि डिजिटल अडिशन सुरू भइसकेकाे निर्माण समूहले जनाएकाे छ।
यसअघिका सिजनमा निर्णायककाे रुपमा न्यूह बज्राचार्य, कालिप्रसाद बाँस्काेटा र इन्दिरा जाेशी रहेकाे थिए। तर सुरू हुन लागेकाे चाैथाे सिजनमा भने उनीहरू निर्णायकमा अटाएका छैनन्।
चाैथाे सिजनकाे लागि शम्भुजित बाँस्काेटा, सुगम पाेखरेल र सुबानी माेक्तान निर्णायककाे भूमिकामा रहने निर्माण समूहले जनाएकाे छ।
यससँगै पछिल्लाे समय नयाँ निर्णायकहरूबारे विभिन्न टिकाटिप्पणीहरू सुरू भएका छन्। त्यसैमाथि सुबानी माेक्तानले निर्णायककाे भूमिका निभाउने भएपछि चारैतिर यतिबेला उनकाे चर्चा सुरू भएकाे छ।
काे हुन् सुबानी माेक्तान ?
'माफ गर्नुहोला तपाईले डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ, कृपया केही समयपछि पुनः प्रयास गनुहोला।', यो आवाज तपाईहरुकाे लागि परिचित नै छ।
त्यस्तै 'मथिल्लो लोकमा हिउँ फूल फुल्यो, वेशीतिरै मन उर्ल्याे', 'माया हो कि मायाजस्तै' जस्तै गीतहरू नसुन्ने स्राेता र दर्शकहरू सायदै हाेलान्।त्यसाे त सानै उमेरमा 'मेरो माया', 'मेरो देश नेपाल'जस्ता गीतहरू गाएर उनी चर्चामा आएकी थिइन्।
उनी चर्चित गायिका कुन्ति मोक्तान र शिला बहादुर मोक्तानकी छोरी हुन्। उनले ६ वर्षको उमेरमै 'अखिल नेपाल गायन प्रतियोगिता'मा प्रथम पुरस्कार पाएकी थिइन्। यसैबाट उनको गायन यात्रा अघि बढेकाे पाइन्छ।
उनले सात वर्षको उमेरमै रेडियो नेपालबाट समेत गीत रेकर्ड गराएकी थिइन्। यससँगै उनले सन् २०१० मा सर्वश्रेष्ठ रक कलाकार र सर्वश्रेष्ठ रचनाका लागि हिट्स एफ. एम संगीत पुरस्कार पनि जितेकी थिइन्।