लोडसेडिङको अन्त्य भए पनि बिना जानकारी बिजुली काटिने समस्या अझै पनि हट्न सकेको छैन।
किन बिजुली काटियो भन्नेबारे नेपाल विद्युत् प्राधिकरणले सामान्य सूचनासमेत दिन छाडेको छ। यस्तै, नयाँ बत्ती जडानका लागि मिटरसमेत पाउन छाडियो। नो लाइट नम्बरमा फोन गर्दा कर्मचारीको व्यवहार रुखो हुन थाल्यो।
एकातिर फोन नउठ्ने, उठीहाले पनि कुनै जानकारी नदिने अवस्था देखिन थाल्यो। पछिल्लो एक वर्षमा आम उपभोक्ताले यस्ता भोग्दै आएका छन्। गुनासो गर्ने निकायले गुनासो सुन्दैन, आवश्यक परेको बेलामा बिना जानकारी बिजुली काटिन्छ।
समस्या बढ्दै गएपछि त्यसलाई समाधान गर्न प्राधिकरणले पहल थालेको छ। प्राधिकरणमा कार्यकारी निर्देशकको रूपमा पुनः नियुक्ति भएर आएपछि कुलमान घिसिङले उपभोक्ता भनेका देवता समान रहेको भन्दै समस्या समाधानका लागि पहल थालेका छन्।
विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो, गुणस्तरीय बनाउन, चुहावट नियन्त्रण गर्न, विद्युतीकरण गर्न, वित्तीय अनुशासन कायम गर्न र आफ्नो सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल थालिएको प्राधिकरणले जनाएको छ।
विनाजानकारी झ्याप्पझ्याप्प बत्ती जाने गरेको, नयाँ वत्ति जडानका लागि मिटर पाउन छोडेको, नो लाइटमा फोन गर्दा फोन नउठाउनेजस्ता गुनासा आउन थालेपछि यस्ता समस्या समाधान गरी सेवा प्रवाहमा सुधार ल्याउन प्राधिकरण व्यवस्थापनले आवश्यक प्रयत्न गरेको छ।
प्राधिकरणले विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो तथा गुणस्तरीय र सेवा प्रवाहलाई छिटो, छरितो एवं सहज बनाउने विषयलाई प्रमुख प्राथमिकतामा राखेको छ।