गुल्शन, सिद्धान्त र जितेन्द्रले काठमाडौं ११ बाट खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर गुल्शन झासहित जितेन्द्र मुखिया र सिद्धान्त लोहनीले आगामी असोजमा हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट काठमाडौं किङ्स-११ बाट खेल्ने भएका छन्।

काठमाडौं किङ्स-११ ले सामाजिक सन्जाल मार्फत गुल्शन, जितेन्द्र र सिद्धान्तलाई  अनुबन्ध गरेको जनाएको हो। गुल्शन पहिलो पटक राष्ट्रिय टिममा पर्दै हाल लिग टु सिरिजका लागि ओमानमा छन्। गुल्शनले यसअघि नेपाल पुलिसबाट घरेलु क्रिकेट खेलेका थिए। 

यस्तै, ब्याट्सम्यान सिद्धान्त भने हाल राष्ट्रिय टोली बाहिर छन्। आर्मीका फास्ट बलर  जितेन्द्रलेसमेत यो पटक काठमाडौंबाट खेल्नेछन्। जितेन्द्रलेसमेत राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका छन्।

राष्ट्रिय टिमकै लेगस्पीनर सन्दीप लामिछाने कप्तान रहेको काठमाडौं किङ्स-११ ले पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीलाई अनुबन्ध गरिसकेको छ। 

प्रतियोगिता असोज ९ बाट २३ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ। जसमा ६ फ्रेन्चाइज टोलीको सहभागीता रहेको छ। बिराटनगर वारियर्स, काठमाडौं किङ्स इलाभेन, चितवन ट्राइगर्स, भैरहवा  ग्लाडिएटर्स, ललितपुर प्याट्रीओटस, पोखरा राइनोज याे प्रतियोगिता खेल्नेछन्। 

प्रकाशित मिति: : 2021-08-28 10:08:00

प्रतिकृया दिनुहोस्