प्राकृतिक प्रकाेपसँग 'भगवान'काे के सम्बन्ध ?

विजय बस्नेत

काठमाडौँ
Breaknlinks
Breaknlinks

प्राकृतिक स्वरुप बेला-बेलामा परिवर्तन भइरहन्छ।  जुन परिवर्तन हुनु स्वभाविक पनि हो।

प्राकृतिक परिवर्तन भएन भने पनि  धर्तीमा जीवहरूको अस्तित्व कमजोर हुँदै जान्छ। प्रकृतिका हरेक भौगोलिक क्षेत्रमा कहींकतै परिवर्तित घटनाहरु घटिरहेका हुन्छन्। यस्तै घटनाक्रमलाई प्राकृतिक प्रकोप भनेर चिन्छौं। प्राकृतिक प्रकोपको पूर्वानुमान गर्न कठिन हुन्छ, तर सचेत बन्न भने सकिन्छ।

सबै प्राकृतिक परिवर्तनले क्षति पुर्याउँदैन। तर कुनै प्राकृतिक प्रकोप भने भयानक र डरलाग्दा हुन्छन्। नेपाल एक सुन्दर भौगोलिक संरचना भएको देशमा चिनिन्छ। यहाँ पनि प्राकृतिक प्रकोपको चक्र चलिरहन्छ।

प्रत्येक वर्ष विभिन्न प्राकृतिक प्रकोपबाट धेरै धनजनको क्षति हुँदै आएकाे छ। जब आपत-विपद् परिसक्छ, तब मात्रै प्राकृतिक प्रकोपको वितण्डा नेपालमा थाहा हुन्छ। अनि आवाज र मनहरुमा भगवानसँगका गुहारहरु गुञ्जिन्छन्।

त्यसाे त मानव एक बुद्धिजीवि प्राणी नै हो। मानवले आफ्नो विकासक्रम अघि बढाए पनि प्रकृतिलाई कहिल्यै जित्न सकेन। नेपालमा हरेक बर्ष प्राकृतिक विपद्का जोखिम बढ्दै गइरहेका छन्। जसमा मुख्य कारण मानवीय क्रियाकलाप नै पर्ने गर्दछन्।

नेपालमा भूकम्प, बाढी, पहिरो र खडेरी जस्ता प्राकृतिक प्रकोपको बढी जोखिम देखिन्छ। प्रत्येक वर्ष प्राकृतिक प्रकोपले बितण्डा मच्चाईरहंदा नेपालमा कुनै पनि  सचेतना अपनाईएको देखिदैन। नेपालको सूचना तथा शिक्षा प्रणाली कमजोर भएकै कारण भगवानलाई नै गुहार माग्दै मानिसहरू प्राकृतिक प्रकोपकाे भागिदार बन्छन्।

प्राकृतिक प्रकोप नै भगवानले रिसाएर गरेको भन्दै पूजा गरेर भगवानलाई खुसी पार्ने प्रचलन अझै नेपाली समाजमा विद्यमान रहेको छ। अचम्मको कुरा त के छ भने, नेपाल सरकारले समेत प्राकृतिक प्रकोपलाई भगवानसँग जोड्दै आएको छ। नेपाल सरकारको प्राकृतिक प्रकोप ऐनको नाम नै 'दैवीप्रकोप ऐन, २०३९' छ। अहिले पनि यो ऐन लागू हुन्छ। त्यस्तै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन-२०७४ लागू भए पनि प्राकृतिक प्रकोप न्यूनीकरण तथा व्यवस्थापनमा कुनै परिवर्तन भएको छैन।

नेपालमा कानून, ऐन, नियम बने पनि कार्यान्वयन भने कहिल्यै हुन सकेका छैनन्। कानून नियम बनाउँदा सबैलाई मख्ख बनाउने खालका कुराहरु राख्ने र काम पर्दा कानून, ऐन, नियम थन्काउने प्रवृत्ति नेपालमा छ। अर्काको भर परेका गरिबी जनताहरुमा जब प्राकृतिक प्रकोप आउँछ, तब भगवानसंग गुहार माग्नुबाहेक अरु विकल्प उनीहरुसँग हुँदैन।

प्रत्येक वर्ष नेपालमा प्राकृतिक चक्र चलिरहन्छ। जुन प्राकृतिक प्रकोपमा मनसुन भित्रीएपछि हुने बाढी ,पहिरो, महामारीजस्ता  प्रकोपहरु पर्दछन्। यो चक्र हरेक वर्ष सबैलाई थाहा अवश्य हुन्छ। अन्य प्राकृतिक प्रकोपजस्तै भूकम्प, खडेरी, हावाहुरीजस्ता प्राकृतिक विपद् भने जतिबेला पनि जुनसुकै ठाउँमा घट्न सक्दछन्। यस्ता प्रकोपहरुको भविष्यवाणी गर्न सकिँदैन।

मनसुन अवधिमा हुने प्राकृतिक प्रकोपका घटनाहरु भने लगभग पत्ता लागिसकेका हुन्छन्। पत्ता नलागे पनि सचेतना अपनाएर धनजनको क्षति रोक्न सकिन्छ। प्राकृतिक प्रकोपबाट प्रत्येक वर्ष ठूलो धनजनको क्षति हुँदै आएको छ। प्राकृतिक प्रकोपको सूचना र प्रविधि पनि नेपालमा कमजोर देखिन्छ। मौसम पूर्वानुमान गरिए पनि प्राकृतिक प्रकोपका घटनाक्रममा सचेतना अपनाईदैन।

नेपाल एक सुन्दर भौगोलिक संरचना भएको देश हो। जहाँ हिमाल, पहाड, तराईमा भौगोलिक बनोट बाँडिएको छ। सम्पूर्ण नदीहरु हिमाल हुँदै तराईतिर झर्दछन्। नदीको जलस्तर सामान्य भएको बेला रमाईरहेका नदी तटिय मानवबस्ती जल स्तरमा फेरबदल भएपछि त्रासै त्रासमा बाँच्नुपर्ने बाध्यता रहेको छ।

पहाडमा पहिरो, तराईमा डुबानको मुख्य समस्या वर्षायाममा नेपालमा देखिन्छ।  प्रकृतिले प्रत्येक वर्ष पाठ सिकाउँदा पनि खोला च्याप्ने र पहाडमा पहिरोको जोखिम नदेखेर संरचना बढाउने क्रियाकलाप बढाउँदै प्रकृतिका कुनै पनि पाठ कसैले सिक्दैनन्। जति बुद्धिजीवि भए पनि आफ्नो विकासक्रम प्रकृतिका नियमहरूविपरीत गर्दै जोखिम मोलिरहेका छन्।

प्राकृतिक अनुकुलन क्रियाकलापलाई तोडेर आफ्नो क्रियाकलाप गर्ने र प्राकृतिक प्रकोपमा आफ्नो दोष नदेखेर गुहार माग्दै हिँड्ने प्रवृत्तिले सधैँ दुःखको ढोका खोलसरहन्छ। 'आफ्नो आङको भैंसि नदेख्ने,अर्काको आङको जुम्रा पनि देख्ने' पुरानो कथा तेत्तिकै बनेको जस्तो लाग्दैन।

सधैँ विपदमा मात्र बुद्धि पलाएजस्तो देखिने तर विपद् नपर्दा भने मौन बस्ने प्रवृत्ति नेपालमा चलिआएको छ। विकसित मुलुकमा भने विपदमा पलाएको बुद्धि सुन्दर वृक्ष भएर विकसित हुन्छ भने नेपालमा विपदमा पलाएको बुद्धि कसरी नष्ट गर्नेतिर विकसित हुन्छ।  प्राकृतिक प्रकोपका हरेक समय र परिस्थितिलाई नबुझेर एकअर्कामा आरोप-प्रत्यारोप लगाउने प्रवृत्ति हटेमात्रै नेपालमा विपद् न्युनिकरण गर्न सकिन्छ।

नेपालमा प्राकृतिक प्रकोपकाे सम्भाव्यता

बाढी, पहिरो, भूकम्प, खडेरीजस्ता प्राकृतिक प्रकोपबाट नेपाल उच्च जोखिममा रहेको छ। प्रत्येक वर्ष नेपालमा प्राकृतिक प्रकोपको विपदबाट सरदर १२ सय मानिसको मृत्यु हुने गरेको छ। साथै करोडौंको क्षति हुने गर्दछ। नेपाल प्राकृतिक प्रकोपको जोखिमका हिसाबले विश्वको ११औं स्थानमा पर्दछ। मिश्रित प्राकृतिक प्रकोपको जोखिममा भने १६औं स्थानमा छ।

यस्तै जलवायुको परिवर्तनको असरका हिसाबले नेपाल विश्वको छैठौं नम्बरमा पर्दछ। पछिल्लो समयमा प्राकृतिक प्रकोप नेपालमा सरदर रूपमा बढिरहेका छन्। हिमाल र पहाडमा पहिरो अनि नदी कटान र तराई तथा उपत्यकाहरू डुबानमा पर्ने समस्याहरु तिब्र रुपमा बढिरहेका छन्।

विशेष गरेर वर्षायाममा नेपालमा प्राकृतिक प्रकोप बढी घट्ने गर्दछन्। अन्तर्राष्ट्रियस्तरमा नै नेपाल उच्च प्राकृतिक प्रकोपको जोखिममा देखिएको छ। नेपालको भू– बनोट र मानवीय विकासका कारणले प्राकृतिक प्रकोप बढ्दै गइरहेका छन्। नेपालमा पछिल्लो समयमा जलवायु परिवर्तनले पनि प्राकृतिक प्रकोपका घटनाहरु उच्च गराइरहेको छ।

मौसम पूर्वानुमान र प्राकृतिक प्रकोप अनुमानका प्रविधिको अवस्था

अन्य मुलुकहरूको जस्तो मौसम पूर्वानुमानको प्रविधि नेपालमा आँझै भित्रिसकेको छैन। पछिल्लो समय नेपालमा मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्मको मौसम पूर्वानुमान सम्बन्धी सूचना दिने गर्दछ। पहिलेभन्दा अहिले प्रविधि विकसित भएको छ। प्रविधिको विकाससँगै मौसम पूर्वानुमानमा अलि सहजता भएको छ।

भू–उपग्रहले दिने सूचनाले बादल, त्यसको दिशा, तापक्रम, आद्रता र हावाको गतिसहितका तस्विर पठाएर सूचना दिने गर्दछ। अहिले ९० भन्दा बढी ठाउँमा मौसम केन्द्र स्थापना गरिएका छन् भने कति जडान गर्ने प्रक्रियामा छन्।

त्यसबाहेक देशका कयौं स्थानमा हुरीबतास, चट्याङ्बारे अध्ययन गर्ने 'सेन्सर' जडान गरिएका छन्। 'सेन्सर' र क्यामराहरुले तत्कालै परेका चट्याङ्को अवस्था, दिशा र गति अनि हुरी तथा भइरहेको वर्षाबारे मौसम विभागको केन्द्रमा सूचना पठाउँदछन्। त्यही सूचनाका आधारमा मौसमको पूर्वानुमान गरिन्छ।

मौसम सूचनाहरु अब्बल बन्दै गए पनि प्राकृतिक प्रकोपका प्रविधिहरुमा विकास कम भइरहेका छन्। जस्तै बाढीको स्तर, पहिरोको अवस्थाजस्ता कुराहरुमा प्रविधि कमजोर रहेको छ। सानो सूचनालाई सचेत बनाई ठूलो धनजनको क्षति हुनबाट बचाउन सकिन्छ। प्रविधिहरू मात्र जडान गरेर हुँदैन, सही तथ्य र सूचना प्रवाह गर्ने प्रविधिहरुको विकास गर्नुपर्दछ।

प्राकृतिक प्रकोप न्यूनीकरणको अवस्था

नेपालमा जोखिमयुक्त भू–बनोटमा बसोबास गर्नुका मुख्य कारण गरिबी र अशिक्षा नै रहेका छन्। कोही पनि जोखिम भएको ठाउँमा बस्न खोज्दैनन्। तर नेपालमा बाध्यता वश जोखिम बसोबास बस्ती बसालिरहेका छन्। राज्यले पनि भू–बनोट अध्ययन गरेर जोखिम हुने क्षेत्र सार्वजनिक गर्न सकेको छैन।

कति त प्राकृतिक प्रकोप बुझे पनि गरिबीका कारण जोखिम मोल्न बाध्य छन्। नेपाल सरकारले ल्याउने हरेक ऐन, नियम किताबमा मात्रै सीमित हुने गरेका छन्। विपद् न्यूनीकरण गर्न न त सरकारको ध्यान देखिन्छ, न त जनताको नै। केही कार्य गरेजस्तो गरे पनि पूर्णरुपमा कोही निकायहरु लागिपरेका देखिँदैनन्।

विपद् आउँदा मुखदर्शक बनेर सरकारले धनजनको क्षति हेरिरहन्छ। संघसंस्थाहरुले सहयोग गरे पनि वास्तविक प्राकृतिक प्रकोप न्यूनिकरणतिर कसैको ध्यान जाँदैन। बरु प्रत्येक वर्ष सहयोग आएको सामग्री तथा रकम कमिशनको जोड घटाउ गरेर बाँडफाँड गरिन्छ।

काम देखाएजस्तो गरेर वास्तविक कामलाई छोपिदिने घटनाहरूले प्राकृतिक प्रकोप न्युनिकरणमा ठूलो समस्या पार्ने गरेका छन्। कुनै ठाउँमा प्राकृतिक प्रकोप न्यूनीकरण नभएका भने होइनन्। समग्रमा हेर्दा प्राकृतिक प्रकोपको न्यूनीकरण नेपालमा नाजुक देखिन्छ।

न्यूनीकरण गर्न यस्ता उपाय

नेपालमा सर्वप्रथम सम्पूर्ण भूबनोट  शुक्ष्म अध्ययन गरी प्राकृतिक प्रकोपका जोखिमको नक्साङ्कन गर्नुपर्दछ। जोखिमका नक्साङ्कन पत्ता लगाएर सुरक्षित नक्साङ्कनमा बस्तीहरु सार्नुपर्दछ।

सूचना र प्रविधिको विकासलाई अब्बल बनाउनुपर्दछ। नेपालमा प्राकृतिक अनुकुलन ठाउँहरु पत्ता लगाई बस्ती विस्तार गर्ने गर्नुपर्दछ। बेला-बेलामा जोखिम बस्तीहरुमा समन्वय गरी सुरक्षित स्थानको लागि कार्यनीति ल्याउनुपर्दछ।

सरकारलाई दबाब दिएर बनाइएका ऐन, नियम, कानूनहरु कार्यान्वयन गराउन लगाउनु जरुरी छ। प्राकृतिक परिवर्तन अनुसारका कार्यक्रमहरुलाई जोड दिनुपर्दछ।

भविष्यमा कति जोखिम ? 

नेपाल एक  विकासशील मुलुक हो। अहिले नेपालमा मानव विकासका क्रान्तिहरु बढ्दै गएका छन्। मानवका विकासक्रम प्राकृतिक रूपमा अध्ययन नगरेर अघि बढेमा, प्राकृतिक प्रकोपका घटनालाई ध्यान नराखेमा, अनुकूलन प्रक्रिया नखोजी मानवविकास गरेमा, यस्तै क्रियाकलाप अघि बढ्दै गएमा भविष्यमा आँझ ठूला प्राकृतिक विपद्को जोखिम बढ्दै जानेछ।

अहिलेको प्राकृतिक प्रकोपको हिसाबले नेपाल भविष्यमा आँझै जोखिममा देखिन्छ। बढ्दो जलवायु परिवर्तन, मानव विकासका संरचना, ऐन, नियममा फितलो हुनुजस्ता कुरा मुख्य रुपमा प्राकृतिक प्रकोपका सर्जक बन्ने छन्। त्यसैले भविष्यको प्राकृतिक प्रकोप न्यूनीकरण गर्न आजैबाट लाग्न जरुरी देखिन्छ।

प्रत्येक वर्षझैं यस वर्ष पनि प्राकृतिक प्रकोपका ठूला घटनाहरु घटेका छन्। कसैले नसोचेका घटना यसै वर्ष घटेका छन्। बढ्दो जलवायु परिवर्तन मानवका विकासक्रम मुख्यरुपमा प्राकृतिक प्रकोप ल्याउन जिम्मेवारी रहेका छन्।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १९ नाकुत्तेभन्दा ५०० मिटर माथिका डाँडाहरुबाट पहिरो खसेर मेलम्ची नदी थुनियो। थुनिएको नदी फुटेपछि हेलम्बु  र मेलम्ची क्षेत्रमा नंसोचेको बाढी आउँदा तटीय बजारहरु तहसनहस भए। अहिले सम्ममा पनि उक्त क्षेत्र त्रासपूर्ण रहेको छ। भने क्षतिको विवरण पूर्णरुपमा आइसकेको छैन।

यस्तै मनाङमा पनि बाढीपहिरोबाट ठूलो धनजनको क्षति भयो। ५९ घर पूर्ण रुपमा क्षति भए। करिब ५४ किलोमिटर सडक बाढी र पहिरोले बगाउँदा अहिलेसम्म सदरमुकाम जोड्ने सडक सञ्जाल विच्छेद भएको छ। ७ वटा गाडी गुड्ने पुलसहित बेलिब्रिज सरकारी भवन र स्कुलसमेत छेद् विच्छेद् भएका छन्।

देशभरिमा यस वर्ष ५० जिल्लामा ठूलो  क्षति भएको छ। अझै क्षतिको विवरण आउँदै छ। सिन्धुपाल्चोकमा बाढीपहिरोमा परी पाँचजनाको ज्यान गयो भने २० जना अझै बेपत्ता छन्। जिल्लाभर ३४० बढी घर पूर्ण रुपमा क्षति भएका छन्। साथै ७ पक्कीपुल, १४ झोलुङ्गेपुल, ३२ सरकारी भवन र १० वटा माछापालन फार्ममा क्षति भएको छ।

यसपालीको मनसुन अवधिमा हालसम्म ७० बढीको मृत्यु भइसकेको छ भने ४० बढी बेपत्ता र ४५ बढी घाइते भएका छन्। २५ जलविद्युत आयोजना, २७ पक्किपुल र २६ झोलुङ्गे पुलमा क्षति पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राविधिकरणले जनाएको छ।

यस अवधिमा सरकारले हेलिकोप्टरबाट २८० स्थलमार्गबाट करिब ५०० गरी जम्मा ७८० जनाको उद्धार गरेको बताएको छ। पछिल्लो समय पुनः मनसुन सक्रिय हुँदा नवलपरासी लगायतका जिल्ला डुबानमा परेका छन् भने धेरै राजमार्गहरु अवरुद्ध भएका छन्। धनजनको क्षति आउने क्रम जारी रहेको छ। अहिलेको अवस्थामा मौसम पूर्वानुमान महासाखाले सचेत रहन सबैलाई आग्रह समेत गरेको छ।

प्रकाशित मिति: : 2021-08-28 14:03:00

प्रतिकृया दिनुहोस्