पछिल्लो वर्षाले थप सडकमा क्षति

केही दिनयता भइरहेको वर्षाका कारण देशभरका विभिन्न सडक अवरुद्ध भएका छन्। सडक विभागले अवरुद्ध भएका स्थानमा पहिरो हटाएर सडक चालू गर्न लागेको छ।

पूर्व–पश्चिम राजमार्ग परासी जिल्लामा तुरिया खोला पुल अवरुद्ध भएको छ। सोही राजमार्गको  रुपन्देहीमा घोडाहा खोला पुल पहिराकै कारण अवरुद्ध रहेको छ। सिद्धार्थ राजमार्गको स्याङ्जामा राम्दी र डुम्रेमा अवरुद्ध छ। पाँचखाल–मेलम्ची सडक सिन्धुपाल्चोक जिल्लाको रातो पहिरामा अवरुद्ध छ।

पछिल्लो पटक सिद्धार्थ राजमार्ग सिद्धबाबा खण्डमा अवरुद्ध भएकामा अहिले एकातर्फबाट खुलिसकेको छ। भिट्ठामोड–जलेश्वर–वर्दिवास, खुर्कोट–मन्थली–तामाकोशी–सिँगटी–लामाबगर–लाप्चेबगर अवरुद्ध भएकामा अहिले एकातर्फबाट चालू भएको छ।

अहिलेको वर्षाले सबैभन्दा बढी क्षति सिद्धार्थ राजमार्ग र नारायणगढ–बुटवल सडकमा देखिएको विभागका सम्भार महाशाखा प्रमुख भीमार्जुन अधिकारीले बताए। पहिराका कारण त्यहाँको डाइभर्सन बगाएको छ। आइतबार र सोमबार सो सडक भएर यात्रा गर्ने यात्रुले दुःख पाएको उनले बताए। यात्रुको चाप बढी रहेको सडक विभागले खुलाइसकेको छ।

बुटवल–नारायणगढ खण्डमा पर्ने तुरिया खोलाको पुल बगाएको भए पनि त्यसको विकल्प रहेको छ। पुल नै बगाएकामा बनाउन लामो समय लाग्ने भए पनि वैकल्पिक सडक हुँदा आवगमन नरोकिने उनको भनाइ छ। केही दिनयताको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग खुलाइसकिएको छ।

आइतबार नागढुङ्गा सडक अवरुद्ध भएकामा अहिलेसम्म खुलिसकेको छ। वर्षाका कारण गत महिनामा अवरुद्ध सडकमा थप क्षति पुगेको छ। लमजुङको बेँसीशहरदेखि मनाङको चामेसम्मको सडक दुई महिनादेखि अवरुद्ध छ। पछिल्लो वर्षाले यहाँ थप पहिरो गएको उपमहानिर्देशक अधिकारीले बताए। उनले भने, 'एकातिरबाट सडक खुलाउन लागिरहँदा पहिराले थप अवरोध गरेको छ।'

यो वर्ष विगतका वर्षभन्दा पहिले वर्षा शुरु भएको थियो। जेठको दोस्रो सातादेखि शुरु भएको वर्षाले देशभरका सङ्घीय, प्रदेश र कतिपय स्थानीय सडक अवरुद्ध गरेको थियो। सङ्घीय सडक अवरुद्ध हुँदा सडक विभागले मातहतका कार्यालयमा रहेका जनशक्ति र उपकरणमार्फत खुलाउने गरेको छ।

सडक विभागले सकेसम्म चाँडो सडक खुलाउन लाग्ने गरेको उपमहानिर्देशक अधिकारीले बताए। विभागले सकेसम्म दुवैतर्फबाट सवारीसाधन चल्न सक्ने गरी पहिरो पन्छाउने गरेको छ। कतिपय स्थानमा सडक नै कटान भएकामा एकातर्फबाट मात्रै चालू गराइएको उनले बताए। विभागले क्षतिको अवस्था र सडकमा हुने सवारीसाधनको चापका आधारमा एकातर्फ मात्रै खुलाउने कि दुवैतर्फ खुलाउने भनी निर्णय गर्छ।

सडक नै भासिएको स्थानमा तत्काल दुवैतर्फ चल्नसक्ने बनाउनुभन्दा एकातर्फबाट मात्रै चलाउन उपयुक्त हुन्छ। ती सडकमा तत्काल एकातर्फबाट र वर्षा कम भएपछि तलबाट पर्खाल लगाएर दुवैतर्फ सडक चालू गरिन्छ। सवारी चाप भएका ठाउँमा भने क्षति भए पनि दुवैतर्फ चालू गर्नुपर्छ। पछिल्लो वर्षाले कुरिनटार नजिकै सडक अवरुद्ध गरेको थियो। उनले भने, 'यो सडकमा चाप बढी भएकाले एकातर्फबाट खुलाएर हुँदैन र दुवैतर्फ खुलाइएको छ।'

यस वर्ष वर्षाका कारण सडक अवरुद्ध हुँदा झण्डै रु दुई अर्ब २५ करोड बराबरको क्षति भइसकेको अनुमान छ। निर्माणाधीन सडकमा क्षति हुँदा भने त्यसको मर्मतको खर्च निर्माण कम्पनीले नै गर्नुपर्छ। चिनियाँ कम्पनीमार्फत विस्तारको काम भइरहेको नारायणगढ–बुटवल सडक मर्मत कम्पनीले नै गर्नेछ।

विगतका वर्षभन्दा बढी वर्षा हुँदा अरु संरचनासँगै सडक र पुलमा बढी क्षति भएको विभागले जनाएको छ। वर्षाका कारण यो वर्ष २०१ सडक अवरुद्ध भएकामा हाल १६ सडक अवरुद्ध छन्। अवरुद्ध भएका सडकमध्ये ६८ सडक दुवैतर्फबाट चालू, ११७ सडक एकातर्फबाट चालू रहेको विभागले जनाएको छ।

सञ्चिता घिमिरे, रासस

प्रकाशित मिति: : 2021-08-30 15:46:00

प्रतिकृया दिनुहोस्