भारतमा वायु प्रदूषणका कारण ४० प्रतिशत भारतीयको औसत आयु नौ वर्ष घट्ने देखिएको छ। अमेरिकी अनुसन्धानकर्ताहरुको एक समूहले सार्वजनिक गरेको एउटा अध्ययन प्रतिवेदनमा यस्तो जानाकारी दिइएको हो।
मध्य, पूर्वी र उत्तरी भारतसहित राजधानी नयाँ दिल्लीमा बस्ने ४८ लाख भारतीय उच्च प्रदूषणको जोखिममा रहेको सिकागो विश्वविद्यालयका विज्ञहरुको अध्ययनमा उल्लेख छ।
‘भारतको उच्च तहको प्रदूषण भौगोलिक रुपमा झनै विस्तार भइरहेको छ,’ अध्ययनमा भनिएको छ। अध्ययनअनुसार महाराष्ट्र र मध्यप्रदेशमा वातावरण प्रदूषणले विकराल रुप लिएको छ।
बढ्दो प्रदूषण तह नियन्त्रण गर्न सन् २०१९ मा भारतमा राष्ट्रिय स्वच्छ हावा कार्यक्रम (एनसीएपी) सुरु गरिएको थियो। कार्यक्रमले भारतका समग्र मानिसको औसत आयु १ दशमलब ७ प्रतिशत बढाउने लक्ष्य लिएको छ। तर, बढ्दो जनसंख्या, अव्यवस्थित सहरीकरण, अशिक्षा तथा उचित दण्ड–सजायको अभावमा प्रदूषण नियन्त्रणका प्रयास सफल हुन सकेका छैनन्।
एनसीएपीले सबैभन्दा बढी प्रदूषित सहरको प्रदूषण तह सन् २०२४ सम्ममा ३० प्रतिशतले घटाउने लक्ष्य लिएको छ। न्युज कारखाना