संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न पाउने वा नपाउने भन्ने विषयको विवाद बिहीबार सर्वोच्च अदालतले निरुपण गर्ने सम्भावना देखिएको छ।
प्रधानन्यायाधीश संवैधानिक परिषद् सदस्यसमेत हुन्। उनी सहभागी बैठकले गरेका निर्णयविरुद्ध परेका रिटमाथिको सुनुवाइका क्रममा संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न पाउने वा नपाउने विवादको निरुपण सर्वोच्चले टुंग्याउने भएको हो।
तत्कालीन प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा प्रधानन्यायाधीशसमेत सहभागी रहेको संवैधानिक परिषद् बैठकले विभिन्न संवैधानिक निकायमा गरेको नियुक्ति बदरको माग राखेर सर्वोच्च अदालतमा रिट परेको थियो। सो रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने निर्णय भएको थियो।
सो इजलासमा प्रधानन्यायाधीश बस्न पाउनुपर्ने र बस्न नहुने भन्दै दुवै माग राखेर परेका छुट्टाछुट्टै रिटमाथि बिहीबार सुनुवाइ हुन लागेको हो। सो रिटको पेसी न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा तोकिएको छ।