बागमती: यी हुन् माधव नेपालकाे पार्टीमा सनाखत गर्ने १३ सांसद

बागमती प्रदेशसभाबाट नेकपा एमाले छोडेर एकीकृत समाजवादी रोज्ने सांसदको संख्या १३ पुगेको छ।

शुक्रबार प्रदेश सभा सदस्य मीना नेपाल ज्ञवालीले एकीकृत समाजवादीमा सनाखत गरेसँगै बागमतीमा उक्त दल रोज्ने सांसदको संख्या १३ पुगेको हो।

प्रदेश निर्वाचन कार्यालय बागमती हेटौंडा पगेर ज्ञवालीले शुक्रबार समाजवादीमा सनाखत गरेकी हुन्। सांसदहरूको एमाले त्यागेर एकीकृत समाजवादीमा आउने क्रम जारी रहेको छ।

उनी जस्तै प्रदेशसभाका अन्य १२ जना सांसदहरू राजेन्द्र पाण्डे, माधव पौडेल, राजेन्द्रमान श्रेष्ठ, वसन्तप्रसाद मानन्धर, लक्ष्मण लम्साल, रमा आले मगर, इन्द्रमाया गुरुङ, मुनु सिग्देल, कुसुमकुमार कार्की, वसुन्धरा हुमागाईं, पार्वती सिलवाल र कृष्णप्रसाद शर्मा खनालले एकीकृत समाजवादीमा सनाखत गरिसकेका छन्।

बागमती प्रदेशमा एमालेका ५६ सांसद रहेकोमा १३ जना एकीकृत समाजवादी प्रवेश गरिसकेका छन्। अब एमालेसँग ४३ जना सांसद मात्रै छन्।

भदौ २२ गतेसम्म एकीकृत समाजवादीमा आवद्ध हुनका लागि समय रहेकाले अझै केही प्रदेश सांसदले सनाखत गर्ने एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलले जानकारी दिइन्।

प्रकाशित मिति: : 2021-09-03 19:19:00

प्रतिकृया दिनुहोस्