अव्यवस्थित पार्किङले कुरुप बन्दै बिर्तामोड

झापाको बिर्तामोडमा भद्रपुर रोड बनेपछि बिर्तामोडको रुप बद्लिएला भन्ने आम बुझाई थियो। चारलेनको सडक र बिचमा फुलबारी हुँदा बिर्तामोडको सुन्दरता नबद्लिने कुरै भएन। सबैले बिर्तामोडको मुहार नै बदलिने अपेक्षा गरेका थिए। तर, रोड निर्माण पश्चातको अव्यवस्थित पार्किङले बिर्तामोड झनै कुरुप भएको बनिरहेको छ।

भद्रपुर रोडमा दुई लेनलाई पार्किङले नै ढाकेको छ। बैंक तथा वित्तिय संस्था धेरै रहेको भद्रपुर रोडमा पार्किङ व्यवस्थापन नहुँदा चार लेनमध्येको दुई लेन प्रयोग विहीन बनेको छ। बिर्तामोडमा घरधनीहरुले घर भाडामा लगाए पनि त्यसको उपभोग गर्न आउनेहरुका लागि पार्किङ उपलब्ध गराएका छैनन्। ठुला बैंकका सवारी समेत रोडमा राखिएको देख्न पाइन्छ।

झापाको ठुलो बजार बिर्तामोडको मुख्य समस्यामध्येको एउटा समस्या पार्किङ हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख निमेश चापागाईंले अलग्गै पार्किङ नहुँदा सडकमै पार्किङ गर्नुपर्ने अवस्था रहेको बताए।

उनले सवारी धनीहरुले बाध्यताकै कारण सडक छेउमा पार्किङ गरेको बताएका छन्। चापागाईंले भने, ‘बिर्तामोडमा पार्किङका लागि छुट्टै व्यवस्था नभएकाले पार्किङमा समस्या भएको हो।’

पार्किङ गर्ने निश्चित ठाउँ छैन भन्दैमा अव्यवस्थित पार्किङ गर्ने छुट नभएको उनको भनाई छ। ‘विशेष गरी बिर्तामोडमा कृषि थोक र भद्रपुर रोडमा पार्किङको समस्या छ’, उनले भने’, अव्यवस्थित पार्किङ गर्नेलाई सम्झाई बुझाई गरिरहेका छौं। अटेरी गर्नेलाई ५ सय देखि १५ सयसम्म जरिवाना गरिँदैछ।’

झापा ट्राफिकले अव्यवस्थित पार्किङ गर्ने चारपाङ्ग्रेमा व्हील लक गर्दै आएको छ भने मोटरसाइकलको हेलमेट लगिरहेको छ। ‘हामी अव्यवस्थित पार्किङ गरेर राखिएको सवारीको फोटो खिचेर सवारी धनीलाई देखाइरहेका र्छौ’, उनले भने।

बिर्तामोडको पार्किङका बारेमा मेयर ध्रुव कुमार शिवाकोटीसँग समेत कुरा गरिरहेको चापागाईंको भनाई छ। ‘उहाँको कुरा सकारात्मक छ, म अलिदिन पछि सबै सरोकारवालालाई राखेर यस विषयमा जानकारी गराउँछु।’

चार महिनादेखि झापामा ट्राफिक कार्यालयको नेतृत्व गरिरहेका चापागाईले अहिलेसम्म व्यवस्थान किन गर्नुभएन भन्ने जिज्ञासामा भने, ‘लकडाउन र झरीका कारण काम गर्न समस्या भइरहेको छ। केहि दिनपछि पक्कै खुल्ला होला। त्यसपछि यो काममा लाग्नेछु। म विर्तामोडबाट बिदा भएर जाँदा यो काम सकेर मात्रै जानेछु।’ ट्राफिक प्रमुख चापागाईं यहाँ पार्किङको दीर्घकालिन समाधान गर्नुपर्ने बताउँछन्।बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नी पाण्डेले कृषि थोक बजारमा कम्प्लेक्स बनाएर पार्किङको समेत व्यवस्थापन मिलाउने जानकारी दिए। उनका अनुसार सो बजारलाई नगरको मातहतमा ल्याएर व्यापारिक मल बनाउने र त्यसको मुनीको भागमा पार्किङ गर्ने ठाउँ बनाउने योजना छ।

प्रकाशित मिति: : 2021-09-05 14:50:00

प्रतिकृया दिनुहोस्