मैत्रीपूर्ण फुटबल:  भारतसँग नेपाल १ गाेलले पराजित

Photo: newskarkhana.com
Photo: newskarkhana.com

दोस्रो मैत्रीपूर्ण खेलमा आयोजक नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसँग २-१ गोल अन्तरले पराजित भएको हो। 

भारतलाई जित दिलाउन फारुख चौधरी र सुनिल क्षेत्रीले एक-एक गोल गरे। नेपालका लागि तेज तामाङले सान्त्वना गोल गरे। चौधरीले ६२ मिनेटमा गोल गरे भने सुनिलले ८० मिनेटमा गोल गरेका थिए। नेपालका मिडफिल्डर तेज तामाङ खेलको अन्त्यमा गोल गरे।

यसैबीच नेपाली टोलीका कप्तान किरणकुमार लिम्बू (चेम्जोङ)ले राष्ट्रिय टोलीबाट ७४ क्यापको कीर्तिमान तोडेका छन्। उनले यसपूर्व कप्तान विराज महर्जनको नाममा रहेको ७३ क्यापको कीर्तिमान तोडेका हुन्। 

गोलरक्षक विशाल श्रेष्ठले करिब एक दशकको राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन्। प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विशाललाई कप्तान किरण लिम्बूको स्थानमा मैदान प्रवेश गराएका थिए। 

व्यावसायिक फुटबलमा मनाङ-मर्स्याङ्दी क्लब, मच्छिन्द्र क्लबमा सफल रहेका विशालले पहिलो पटक राष्ट्रिय टोलीबाट डेब्यु गर्ने मौका पाएका हुन्। 

खेल हेर्न गृहमन्त्री बालकृष्ण खाण र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली मैदानमा उपस्थित थिए।  पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १-१ गोलको बराबरी खेलेका थिए। 

प्रकाशित मिति: : 2021-09-05 19:34:00

प्रतिकृया दिनुहोस्