लोकसेवाको जागिर लगाइदिने भन्दै पैसा लिएर ठगी गर्ने एक व्यक्तिलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ। महोत्तरी पशुपतिनगर-४ घर भई धरान-५ तल्लो देउराली बस्ने ५२ वर्षीय कुमार थापा मगर भन्ने अमरबहादुर लामिछानेलाई निवासबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीले लामिछाने बसेको घरको कोठामा खानतलासी गदा सर्वोच्च अदालत काठमाडौं लेखिएको डिजिटल छाप १ थान, लोकसेवा कार्यालय कमलपोखरी काठमाडौं लेखेको रवरको छाप १ थान, गोप्य लेखेको रवरको छाप १ थान, जिबछ लामिछानेसमेत लेखेको रवरको छाप १ थानसमेत फेला पारेको छ।
त्यस्तै नेपाल सरकार गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय काठमाडौं लेखेको रबरको छाप १ थान, प्रहरी निरीक्षक लेखेको रवरको छाप १ थान, उपसचिव लेखेको रवरको छाप १ थान, राष्ट्रिय बाणिज्य बैंक उल्टो उल्लेख भएको रवरको छाप १ थान, लोक सेवा आयोगको कार्यालय धनकुटा लेखेको डिजिटल स्टाम्प छाप १ थान, शाखा अधिकृत लेखेको छाप १ थानलगायत सम्बन्धित विभिन्न कागजातहरु बरामद गरेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रहरीका अनुसार लामिछानेले धरानलगायत विभिन्न स्थानमा व्यक्तिलाई आफू लोकसेवा आयोगको कर्मचारी रहेको र सरकारी जागिर लगाइदिने भन्दै रकम असुल्दै आएका थिए। सर्वसाधारणबाट मोटो रकम लिएर लोकसेवा आयोगको परीक्षा प्रवेश पत्रसमेत वितरण गर्ने गरेको प्रहरीको दाबी छ। लामिछानेविरुद्ध २३ भदौमा किटानी जाहेरी परेको थियो। सोही किटानीको आधारमा उनलाई पक्राउ गरेको हो।
ठगी गर्ने लामिछानेलाई सरकारी छाप दस्तखत कीर्ते तथा ठगी कसुरमा सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ।