वर्तमान व्यवस्था असफल भइसक्यो : प्रभु साह

पूर्वमन्त्री प्रभु साहले वर्तमान व्यवस्था असफल भइसकेको बताएका छन्। 

आज लहानमा आयोजित आईटी आर्मीको सिरहा जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले वर्तमान व्यवस्था पूर्ण रुपमा विकृत रहेको र असफल भएर देशमा अस्थिरता निम्त्याएको बताएका हुन्। 

उनले संविधान निर्माण जस्तो कार्य पनि भागबण्डाको आधारमा गरी संसारमा काहीँ नभएको प्रावधानहरु सविधानमा राखेर देशलाई बन्धक बनाएको बताए ।

असफल व्यवस्थाकै नतीजा स्वरुप आज देशमा विद्यमान राजनीतिक किचलो झनै बढ़ेको उनको तर्क छ।  नेपालको सन्दर्भमा कुनै पनि हिसाबले उपयुक्त हुन नसक्ने व्यवस्थाहरु संविधानमा समेटेर दलहरुले आफ्नो निहित स्वार्थ पूरा मात्र गरेको तर देशलाई भने ठूलो क्षति व्योहोर्नुपरिरहेको उनको भनाइ छ।

ठूलठूला देशमा ५०–६० वटा मात्र सरकार रहेको भन्दै उनले नेपालमा गलत नियतले सयौँ सरकार जन्माइएको टिप्पणी गरे ।

उनले संसारमा कहीँ पनि नभएको ७६१ वटा सरकार नेपालमा मात्र रहेको, शासक वर्गलाई आरक्षण नेपालमा मात्र रहेको, पक्षपातपूर्ण राजस्व बाँडफाड नेपालमा मात्र रहेको, अरु देशको नागरिकता लिइसकेको व्यक्तिलाई पनि नागरिकता दिनेजस्ता व्यवस्था नेपालमा मात्र रहेकोले देशलाई खोक्रो बनाउने कार्य भइरहेको टिप्पणी गरे ।

‘संसारका सबै व्यवस्थाको संयोजन गरेर पूर्णतः अवैज्ञानिक तवरले लादिएको व्यवस्था असफल भइसकेको छ,’ पूर्वमन्त्री साहले भने,‘समग्रमा वर्तमान खिचडी संविधानमा लादिएका यस्ता कैयौँ व्यवस्थाका कारण आज देशमा राजनीतिक नाटक मञ्चन हुँदै छन्।’ 

पूर्वमन्त्री प्रभु साह संविधानसभाबाट संविधान जारी भएलगत्तै संविधानमा हस्ताक्षर नगरी संघर्षमा गएका थिए। त्यतिबेलादेखि नै उनले वर्तमान व्यवस्था र खिचडी संविधानको विकल्प खोज्ने जनतालाई आह्वान गर्दै आएका छन्। भेलाबाट दीपेन्द्र महतोको संयोजकत्वमा आइटी आर्मीको सिरहा जिल्ला कमिटी गठन भएको छ ।

प्रकाशित मिति: : 2021-09-16 20:44:00

प्रतिकृया दिनुहोस्