आर्थिक संकट झेल्दै गुरुकुल

File photo
File photo

गुरुकुल शिक्षा पद्धति लोप भइरहेका बेला विसं २०७२ मा पश्चिम सुर्खेतको बाबियाचौरमा स्थापना भयो, शिवधाम गुरुकूल विद्यालय।

स्थापनाकालदेखि नै मन्दिरलाई प्राप्त दान–दक्षिणा र गाउँलेबाट मानापाथी उठाएर सञ्चालनमा ल्याइएको गुरुकुललाई पछिल्ला वर्ष पञ्चपुरी नगरपालिकाले केही रकम प्रदान गर्दै आएको छ। त्यो रकम पर्याप्त नभएको गुरुकुलको गुनासो छ।

पञ्चपुरी–५ स्थित शिवधाम गुरुकुल विद्यालयका प्रधानाध्यापक वासुदेव शर्माले गुरुकुल सञ्चालनका लागि बालीपिच्छे प्रतिघर एक÷एक पाथी अन्नबाली सङ्कलन गर्ने गरिएको बताए। उनका अनुसार नगरपालिकाले वार्षिक दुई लाख ५० हजार उपलब्ध गराउँदै आएको छ। गुरुकुलमा ७ कक्षासम्म पढाइ हुन्छ। अछामका ११, कैलालीका चार, सुर्खेतका २० गरी ३५ विद्यार्थी अध्ययनरत छन् भने सात अस्थायी शिक्षकले गुरुकुल धानिरहेका छन्। 'शिक्षकलाई तलब खुवाउनै समस्या छ, समुदायको सहयोगबाट स्कुल चलेको छ', प्रधानाध्यापक शर्माले भने, 'स्थायी दरबन्दी नहुँदा शिक्षकले मासिक रु पाँच हजार तलबमा पढाउनुपरेको छ।'

गुरुकुलका शिक्षकलाई तलबमात्र अपुग छैन्, विद्यार्थीको पोशाक टोपी, गम्छा, धोतीदेखि गाँसबास खर्च जुटाउनसमेत मुस्किल छ। त्यस्तै भौतिक पूर्वाधारको कमी छ। पाँच मात्रै कक्षाकोठा हुँदा वृद्धाश्रममा कक्षा सञ्चालन गर्ने गरिएको छ। पञ्चपुरीका वडा नं ३, ५, ६, ८ र ९ वडाबाट सङ्कलित खाद्यान्नबाट विद्यार्थीलाई खानाको व्यवस्था मिलाइएको छ।

संस्कृत (शास्त्री), धार्मिक ग्रन्थ, कर्मकाण्ड–वेद र अनिवार्यसहित सात विषय पढाइ हुन्छ। संस्कृतमा शास्त्री, आचार्य उपाधिप्राप्त गरेपछि पुरोहित, ज्योतिषीका लागि योग्य मानिन्छ। शिक्षक ताराप्रसाद उपाध्यायले गुरुकुल सबै जातिका लागि खुला भए पनि हाल ब्राह्मण र क्षेत्री समुदायका बालबालिकामात्र अध्ययनरत रहेको बताए। सरकारले गुरुकुल शिक्षा पद्धतिको आधुनिक विकास र विस्तारमा आवश्यक चासो नदिएको उनको दुखेसो छ।

प्रकाशित मिति: : 2021-09-17 12:13:00

प्रतिकृया दिनुहोस्