कोरोनाले बढायो स्वास्थ्य सचेतना

Health Post Nepal
Health Post Nepal

कोरोनाका कारण नागरिकमा स्वास्थ्यप्रतिको चासो बढ्दै गएको छ। पछिल्लो समय स्वास्थ्य चेतना बढ्दै जाँदा कोरोना सङ्क्रमण दर मात्रै होइन, सरुवा रोगसमेत घट्दै गएको स्वास्थ्यकर्मीले बताएका छन्।

कोरोना सङ्क्रमण फैलन थालेको पछिल्लो दुई वर्षयता सरुवा रोगमा कमी आएको स्वास्थ्य कार्यालयले जनाएको छ। कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षा अपनाउने, नियमित हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, घरमै बनाएको परिकार खान थालेपछि सरुवा रोगमा पनि कमी आएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए।

तथ्याङ्कमा यकिन सङ्ख्यामा यति कमी भयो भन्ने नभए पनि पछिल्लो दुई वर्षयता झाडापखाला, आऊ, हैजा र टाइफाइडको बिरामी नगन्य मात्रामा मात्रै फेला परेको उनको भनाइ छ।

'अस्पतालमा उपचारका लागि आउने बिरामीको रोग हेर्दासमेत यस्ता कुरा सहजै स्वास्थ्यकर्मीले अनुमान लगाउन सकिन्छ, अहिले टाइफाइड, झाडापखाला, आऊ र हैजाजस्ता रोगका बिरामी निकै कम आएको पाइयो', स्वास्थ्यकर्मी खनालले भने, 'कोरोनाका कारणभन्दा पनि कोरोनाले हात धुने, स्यानिटाइजर तथा मास्कको अनिवार्य प्रयोग गर्ने नागरिक बढेसँगै यस्ता सरुवा रोग सर्न पाएन, पछिल्लो समय स्वास्थ्यप्रति धेरै नागरिक सजग भएकोसमेत पाइएको छ।'

नेपालमा बर्खायाममा झाडापखलाको महामारीका कारण गाउँ नै सखाप हुने अवस्था रहे पनि अहिले त्यस्तो समाचार खासै नसुनिएको खनालको भनाइ छ। बागलुङमा कोरोनाअघि धवलागिरि अस्पतालमा झाडापखाला र टाइफाइडका बिरामीको सङ्ख्या धेरै देखिने गरे पनि अहिले निकै कम सङ्ख्यामा आउने गरेको अस्पतालले जनाएको छ।

स्वास्थ्यसम्बन्धी सजगता, बासी, सडेगलेका खानेकुरा नखाने, नियमित हात धुने तथा मास्कको प्रयोगले खाना र हावाको माध्यमबाट सर्ने रोगमा कमी आउन थालेको छ।

कोरोनाले दुई वर्षको अन्तरालमा नागरिकमा स्वास्थ्यसम्बन्धी चेतना बढेको र आफ्नो तथा परिवारको स्वास्थ्य सुरक्षा सचेततालाई जीवनशैली बनाउन थालेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौं बताउँछन्।

उनका अनुसार स्वास्थ्य सचेतना बढ्दा स्वास्थ्यसम्बन्धी विभिन्न रोगमा कमी आउने अनुमान छ। जिल्लामा पहिलो कोरोनाको लहरमा एक हजार र दोस्रो लहरमा ७४० पुगेको सक्रिय सङ्क्रमणको दर घटेर जम्मा ७६ पुगेको र कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ।

कोरोना सङ्क्रमण दर कम भएसँगै जिल्लामा चहलपहल हुन थालेको छ भने लामो समयदेखि बन्द रहेका विद्यालय तथा पार्टी प्यालेस र धार्मिक क्षेत्र खुलासमेत गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए।

बागलुङमा ३६ प्रतिशत नागरिकलाई पूर्ण खोप

कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भएयता जिल्लामा हालसम्म ३६ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन्। स्वास्थ्य कार्यालय बागलुङले सार्वजानिक गरेको तथ्याङ्कानुसार जिल्लामा १८ वर्षमाथिका ३६ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप प्राप्त गरेका छन्। त्यसैगरी जिल्लामा हालसम्म ४२ प्रतिशत नागरिकले पहिलो डोज प्राप्त गरिसकेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिए।

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म १८ वर्षमाथिका कक्षा ११ र १२ अध्ययन गर्ने दुई हजार ६६६ विद्यार्थीले कोरोनाविरुद्धको खोप लगाएका छन्। जिल्लामा कूल ६६ हजार ९९२ जनाले पहिलो डोज खोप लगाएका छन् भने ५६ हजार ७०८ नागरिकले पूर्ण खोप प्राप्त गरेको कार्यालय प्रमुख गुरौंले बताए।

जिल्लामा अघिल्लो वर्षको तुलनामा प्रसूतिपश्चात हुने जाँच गर्ने महिलाको सङ्ख्या भने बढ्दै गएको छ। अघिल्लो वर्षदेखि सुत्केरीपश्चात स्वास्थ्यकर्मीद्वारा नै घरभेट कार्यक्रम सञ्चालन भएसँगै आव २०७६/७७ मा ११ प्रतिशत रहेकामा गत आवमा १८ प्रतिशत पुगेको गुरौंले बताए।

प्रकाशित मिति: : 2021-09-18 19:40:00

प्रतिकृया दिनुहोस्