'भारत र नेपाललाई संस्कृतिको सूत्र र जनता–जनताबीचको सम्बन्धले जोडेको छ'

File Photo
File Photo

नेपालको संविधान एवं राष्ट्रिय दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हार्दिक शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री मोदीले नेपाली जनताका साथै प्रधानमन्त्री देउवाप्रति बधाई ज्ञापन गरेका हुन्।

संस्कृतिको सुदृढ सूत्र, पारस्परिक सम्पर्क र जनता–जनताबीचको सम्बन्धले भारत र नेपाललाई जोडेको बताउँदै उनले दुवै देशबीचको अनुपम एवम् विशेष साझेदारीयुक्त समान सम्बन्ध विश्वका केही देशबीचमात्र रहेको उल्लेख गरेका छन्।

अकल्पनीय कोभिडको महामारीबाट मुक्त हुनेतर्फ विश्व अग्रसर भइरहेको अहिलेको अवस्थामा महामारीका कारण सिर्जित चुनौतीको सामना गर्न नेपाललाई भारतबाट निरन्तर एवम् अविचलित सहयोग हुने प्रतिबद्धता प्रधानमन्त्री मोदीले सन्देशमा दोहोर्याएका छन्। 

ओजपूर्ण एवम् बहुआयामिक साझेदारीको माध्यमबाट शान्ति र समृद्धि हासिल गर्ने दुवै देशका जनताको साझा लक्ष्यका निम्ति भारत र नेपालबीचको सुदृढ पारस्परिक सम्बन्धलाई थप गति दिन प्रधानमन्त्री देउवासँग निकटमा रहेर सहकार्य गर्न आफू प्रतीक्षारत रहेको प्रधानमन्त्री मोदीले बताएका छन्।

प्रधानमन्त्री देउवा र समस्त स्नेहशील नेपाली जनताको सु–स्वास्थ्यको कामना पनि प्रधानमन्त्री मोदीले सन्देशमा उल्लेख गरेका छन्।

प्रकाशित मिति: : 2021-09-19 07:18:00

प्रतिकृया दिनुहोस्