संविधान दिवसको अवसरमा दैलेखमा अन्तरप्रदेश बुद्धिचाल प्रतियोगिता

संविधान दिवसको अवसर पारेर दैलेखमा अन्तरप्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिता सञ्चालन भएको छ।  

दैलेख जिल्ला बुद्धिचाल संघद्वारा आयाेजित प्रतियोगितामा भाग लिन दुई नम्बर प्रदेश बाहेक सबै प्रदेशको सहभागिता रहेकाे दैलेखका अध्यक्ष निरक रावतले बताए।

'संविधान दिवसकाे अवसर पारेर प्रतियोगिता संचालन गरिएकाे हाे। याे तीन दिनसम्म चल्नेछ,' उनले भने, 'दुई नम्बर प्रदेश बाहेक सबै प्रदेशबाट गरि ६४ जना सहभागी हुनुहुन्छ।'

चेस जुनसुकै उमेर समूहले खेल्न सक्ने र दिमागी क्षमता बढाउने खेल भएकाले निरन्तर प्रतियोगिता भइरहनु पर्ने एन.ए. चिफ आर्विटर तथा प्रतियोगिताका मुख्य रेफ्रि पशुपतिनाथ याेगीले बताए। 

'दैनिक एक देखि दुई घण्टा  खेल्दा चेसले पार्कलसिस र अल्जाइमर भन्ने दुईवटा राेगकाे उपचारमा सहयाेगीकाे काम गर्छ,' उनले भने, 'असी देखि नब्बे प्रतिशत मान्छेकाे एकातिरकाे दिमाग मात्र चल्छ भने चेस खेल्ने मान्छेकाे दुबै दिमाग चल्छ। यसकारण पनि चेस महत्त्वपूर्ण छ।' 

दैलेखमा सुरु भएकाे प्रतियोगितामा २७ जना रेटेड खेलाडी छन्। एसियन चाम्पियन कृष्ण थापा, आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला तर्फका नेपाल चम्पियन सम्झना लाेहनी र पूर्व नेपाल च्याम्पियन सिन्दिरा जाेशी लगायत खेलाडीहरु सामेल हुन आएकाे याेगीले बताए।

प्रतियोगितामा पहिला हुनेलाई तीस हजार नगद र प्रमाण, दाेस्राे हुनेलाई बीस  हजार नगद सहित प्रमाण पत्र तथा टप टेनलाई समेत नगद र पमाणपत्रकाे व्यवस्था गरिएकाे आयाेजकले जनाएको छ।

प्रकाशित मिति: : 2021-09-19 08:10:00

प्रतिकृया दिनुहोस्