नयाँ एयरपोर्ट बनेपछि पोखरामा के हुन्छ अल्ट्रालाइट प्याराग्लाइडिङको भविष्य ?

तत्कालीन रसियन नागरिक नतासालाई पर्यटनले पोखरा तान्यो।

नेपालमै बिहे गरिन्, यतै पर्यटक तान्ने गतिविधि गर्न थालिन्। 

पहिलो पटक सन् १९९६ मा उनले पोखरामा एभिया क्लब जन्माइन् र अल्ट्रालाइटमार्फत पर्यटकले आकाशबाट पोखरा घुम्न पाउने भए। अहिले पोखरामा तीनवटा अल्ट्रालाइट कम्पनी सञ्चालनमा छन्। विगत पाँच वर्षदेखि जाइरोकोप्टर पनि उड्न थालेको छ। ६० भन्दा बढी कम्पनीका तीन सयभन्दा बढी प्याराग्लाइडर छन्। हट बेलुनमा पनि उड्न पाइन्छ। पोखरा विस्तारै हवाई खेलकुदको हव बन्दै छ।

प्याराग्लाइडिङबाट एसियन गेममा नेपालले मेडल प्राप्त गरेको थियो। त्यसैले पनि पोखरामा हवाई खेलकुदको सम्भावना उच्च छ। यद्यपि त्यसको उचित उपयोग हुन सकेको छैन। प्याराग्लाइडिङको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा वर्षेनी हुँदै आएको थियो। अहिले यहाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन छ। धेरैको चासो यसपछि पोखरामा हवाई खेलकुदको भविष्यबारे छ। पर्यटन व्यवसायीहरू कुनै पनि खेल यहाँबाट विस्थापन गर्न नहुने बताउँछन्।

यद्यपि सरकारले सूचना जारी गरेको छैन। नतासा पोखरा हवाई खेलकुदको राजधानी भएकाले अन्यत्र सिफ्ट गर्दा त्यसको सन्देश राम्रो नहुने बताउँछिन्। ‘मैले व्यवसाय गर्दा वर्षमा ३० हजार मात्रै पर्यटक आउँथे। अहिले लाखौं आउन थालेका छन्। यसमा स्पोर्टस टुरिजमले धेरै सहयोग गरेको छ,’ उनले भनिन्, ‘तर अहिले विमानस्थल निर्माणपछि हवाई खेलकुदको अवस्था थाहा छैन। कति फ्लाइट हुने हो ? कुन जहाज आउँछ ? सरकारले बेलैमा हामीलाई जानकारी गराएको छैन।’

केही जानकारहरू भने हवाई खेलकुदलाई नेपालका अन्य एयरपोर्टमा ‘सिफ्ट’ गर्नुपर्ने बताउँछन्। नेपालमा ४८ एयरपोर्टमध्ये १८ वटा मात्रै सञ्चालनमा छन्। ३० वटा अहिले पनि पूर्ण रूपमा बन्द छन्। बन्द भएका एयरपोर्टबाट साइट सिनका लागि अल्ट्रालाइट, प्याराग्लाईडिङ जस्ता खेल चलाउन सकिने उनीहरूको भनाइ छ।

‘विकासले पोखराका लागि राम्रै गर्छ। एयरपोर्ट बनेपछि यहाँको अर्थतन्त्रमा ठूलो टेवा पुग्छ,’ नेपाल पर्यटन बोर्डका पोखरा प्रमुख काशी भण्डारीले भने, ‘अब हवाई स्पोर्टस् उपयुक्त अन्य ठाउँमा सिफ्ट गर्नुपर्छ।’ डेढ वर्षदेखि विश्वको पर्यटन डामाडोल छ। पर्यटकहरू घुम्न निस्किएका छैनन्। नेपालमा अड्किएका केही पर्यटकहरू लकडाउन खुलेपछि विस्तारै गन्तब्यतिर लागे। शरद याम पर्यटनको प्रमुख सिजन हो। अहिले शरद सुरु भएको छ।

केही पर्यटकहरू आफ्नो देश फर्किएका छन्। अध्यागमन कार्यालयले अप्रिल २९ देखि सेप्टेम्बर १७ सम्म एक हजार पाँच सय ११ जनाको भिसा दिएको छ। तीमध्ये एक हजार एक सय चारजना पर्यटकको भिसा थप भएको हो। भिसा थपेर कार्यालयले एक करोड ७८ लाख ८६ हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ।

‘पहिलो लहर सकिँदा पर्यटन चलायमान हुने आस थियो। दुर्भाग्यवश दोस्रो लहर आयो र हाम्रा आसा सबै अन्त भयो,’ भण्डारी भन्छन्, ‘पोहोर आसा मात्रै थियो, सकियो। अहिले भ्याक्सिनको भरोसा पनि छ। छिटै देशभरि भ्याक्सिन वितरण हुन्छ र कोभिड नियन्त्रणमा आउने छ।’ 

पर्यटकलाई सरकारले ३० सेप्टेम्बरसम्म विना जरिवाना भिसा थपिदिने निर्णय गरेको छ। यसले उनीहलाई सहजता थपेको छ। कोभिड सेलाउने तर्खर गर्दै गर्दा पर्यटकीय गतिविधिमा भने अंकुश लाग्ने सम्भावना छ। यसले धेरै पर्यटन व्यवसायी चिन्तित छन्। विमानस्थल आयोजनासँग पर्यटन व्यवसायीले पटक पटक अन्तरक्रिया गरेका छन्। तर स्पष्ट जवाफ पाएका छैनन्।

प्रकाशित मिति: : 2021-09-19 09:45:00

प्रतिकृया दिनुहोस्