आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा ओमानले नेपाललाई जितका लागि १२२ रनको लक्ष्य दिएको छ।
अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १२१ रन बनायो।
ओमानका लागि कप्तान जिसन मक्सुदले सर्वाधिक ४१ रन बनाए। यस्तै, जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुसी १२ रनमा आउट भए।
सन्दीप गौडले ८ रन, आयन खानले ७ रन जोड्दा सुफ्यान मेहमुद र मोहमद नदीमले ४/४ रन जोडे। सुरज कुमार र नेस्टर धाम्बा खाता नखोल्दै पेभेलियन फर्किए।
कालिम उल्लाह ११ रनमा अविजित रहँदा बिलाल खानले ९ रन बनाए।
ओमानलाई सस्तैमा समेट्न करण केसी र सन्दीप लामिछानेले ४/४ विकेट लिए। शरद भेषवाकरले २ विकेट लिए।
लिग- २ मा नेपाल ७ खेलमा ६ अंक जोडेर छैटौँ स्थानमा रहेको छ। ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ। अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।