हङकङलाई जित्नैपर्ने दबाबमा नेपाल, यस्तो छ छनोटको समीकरण

न्युज कारखाना
न्युज कारखाना

एएफसी महिला एसियन कप-२०२२ छनोट अन्तर्गतको दोस्रो खेलमा नेपालले भोलि (मंगलबार) हङकङको सामना गर्दैछ। उज्वेकिस्तानको तास्केन्तस्थित जेएआर मैदानमा समूह ‘एफ’को खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो। 

यसअघि नेपाल समूह ‘एफ’ को पहिलो खेलमा फिलिपिन्ससँग पराजित भइसकेको छ। आगामी वर्ष भारतमा आयोजना हुने एएफसी महिला एसियन कपमा स्थान बनाउने सम्भावना कायम राख्न नेपाल मंगलबार ‘गर या मर’ को स्थितिमा रहेको छ। 

फिफाको महिला वरीयतामा नेपाल १०१ र हङकङ ७६ स्थानमा छ। नेपालका प्रशिक्षक ग्यारी फिलिप्सले यसअघि नै फिफा वरीयता एक अंक मात्रै रहेको र नेपाली टोलीले उच्च मनोबलका साथ छनोट खेल खेल्ने बताएका थिए। 

पहिलो खेलमा नेपाल अन्तिम मिनेट सम्हालिन नसक्दा फिलिपिन्सविरुद्ध २-१ गोल अन्तरले पराजित भएको थियो। खेलको सुरुवाती १० मिनेटमै विमला चौधरीको गोलमा अग्रता बनाएको नेपाल ९० र थपिएको २ मिनेटमा लगातार दुई गोल ब्यहोर्दै ऐतिहासिक जितबाट टाढा रहेको थियो। 

नेपालले सन् १९८६ बाट एएफसी महिला च्याम्पियनसिपमार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको थियो। जहाँ नेपाल हङकङसँग १-० गोल अन्तरले पराजित भएको थियो। 

नेपाली महिला टोलीले लगातार तीनपटक (सन् १९८६, १९८९ र १९९९) मा एसियन कप खेलेको थियो। तीनैपटक नेपालको यात्रा समूह चरणमा सीमित भएको थियो। जसअन्तर्गत दुईपटक थाइल्यान्ड, इन्डोनेसिया र हङकङ सम्मिलित समूहमा परेको नेपाल तेस्रोपटक भने इन्डोनेसिया र हङकङसँगै जापान सम्मिलित समूहमा परेको थियो। 

यसअघि नेपालको लिग च्याम्पियन एपीएफ क्लबले हङकङलाई उसैको घरेलु मैदानमा पराजित गरेको थियो। स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) र मिडफिल्डर मञ्जलीकुमारी योञ्जनको एक गोलसँगै नेपालले हङकङलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।  

यसपटक नेपाली टोलीमा सावित्रा भने हुने छैनन्। घुँडाको चोटको शल्यक्रिया गरेकी सावित्रा कतारको अस्पेटार अस्पतालमा रिह्याबको अवस्थामा रहेकी छिन्। हङकङविरुद्ध समेत नेपालले सावित्रा भण्डारी साम्बाको अभाव खेप्नुपर्नेछ। सावित्राबिना नेपालले विपक्षी बक्समा खासै दबाब बढाउन सकेको छैन। गत शनिबार फिलिपिन्सविरुद्ध समेत सोही अवस्था देखियो। 

नेपाली टोलीका कप्तान रेणुका नगरकोटेले उज्वेकिस्तान उठ्नुअघि नै नेपाली टोली हङकङविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रने बताएकी थिइन्। उनले भनिन्, ‘हामीले (एपीएफ) यसअघि पनि हङकङसँग खेलेका थियौं। नतिजा हाम्रो पक्षमा थियो। यसपटक समेत हामी उच्च मनोबलका साथ खेल्नेछौं।’ 

प्रशिक्षक ग्यारीले हङकङविरुद्ध समेत फिलिपिन्सकै सुरुवाती एघारलाई निरन्तरता दिन सक्छन्। फिलिपिन्सविरुद्ध गोलकर्ता समेत रहेकी विमला चौधरी र पूजा रानाले चोट व्यहोरेका थिए। दोस्रो खेलमा दुवै खेलाडी फर्कन सक्नेछन्। 

छनोटको लागि यस्तो छ समीकरण 

अब, नेपाललाई एसियन कप छनोट सम्भावना कायम राख्न मंगलबार हङकङविरुद्धको खेलमा जितको विकल्प छैन। हारले  नेपाल पुनः चौथोपटक समूह चरणबाटै बाहिरिने छ। 

यता, हङकङलाई पराजित गरेमा भने नेपालको गणितीय सम्भावना कायमै रहन्छ। नेपालले हङकङलाई पराजित गरको खण्डमा नेपाल र फिलिपिन्सको समान ३-३ अंक हुनेछ। 

नेपालले पहिलो खेलमा एक गोल गर्दा दुई गोल ब्यहोरेको छ। नेपाल पहिलो हारसँगै बिना अंक ९–१० को अवस्थामा छ। अब, दोस्रो खेलमा छनोट सम्भावना यथावत् राख्न नेपालले हङकङविरुद्ध जित मात्रै नभएर गोलसंख्या समेत बढाउनुपर्ने हुन्छ। 

शनिबार  समूह ‘एफ’ कै फिलिपिन्स र हङकङले प्रतिस्पर्धा गर्नेछन्। यदि यस खेलमा हङकङ विजयी भए समूह ‘एफ’ का तीनै टोलीको समान ३ अंक हुनेछ र समूहको शीर्षस्थान गोल अन्तरका आधारमा हुनेछ। जहाँबाट नेपालको छनोट सम्भावना रहेको छ। 

यदि हङकङविरुद्ध फिलिपिन्सले जित हासिल गरे स्वतः ६ अंकसहित फिलिपिन्स आगामी वर्ष भारतमा आयोजना हुने महिला एसियन कपमा समूह ‘एफ’ बाट छनोट हुनेछ। 

प्रकाशित मिति: : 2021-09-20 14:19:00

प्रतिकृया दिनुहोस्