आर्थिक अभाव भएर २०७० सालपछि रोकिएको नागेंचा प्याखँ (नाच) सञ्चालन गर्न काठमाडौँ महानगरले अनुदान दिएको छ।
अनुदान पाएपछि यस वर्षदेखि नाच प्रदर्शन थालिएको छ। हरेक वर्ष यँया पुन्हीबाट सुरु भएर तीन दिनसम्म चावहिल, जय बागेश्वरीलगायतका नौ ठाउँमा नाच प्रदर्शन गर्ने परम्परा छ।
काठमाडौँ महानगरपालिका–७ चारुमती विहारमा २०७० सालमा प्रदर्शन भएको नाच त्यसपछि ४ असोज २०७८ चारुमती विहारमा प्रदर्शन गरियो। महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नाचमा बजाइने वाद्य सामाग्री गुठीयारहरूलाई दिएर नाच शुभारम्भ गरेका थिए।
विहारमा नाच्नुअघि चावहिल स्तुपनजिक रहेको नास द्यः (नाचका देवता)को पूजा गरेर नाच सुरु गरिएको थियो। यो पूजा जयबागेश्वरीका गुरुजुले गराउने चलन छ। नाच मंगलबार बेलुका साढे ६ बजे जयबागेश्वरी मन्दिरमा परिसरमा नचाइनेछ।
यो नाच पशुपति क्षेत्रमा रहेको अमालकोट कचहरीले सञ्चालन गर्ने गरेको थियो। यसका लागि एक लाख रुपैयाँ दिने गथ्र्यो। त्यो रकमले नाचसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्न नपुग्ने भएपछि बन्द भएको थियो।
नागेँचा प्याखँ संरक्षण समितिका अध्यक्ष जलाद वैद्यले भने, ‘काठमाडौँ महानगरले नाचलाई पुनर्जीवन दियो। यसबाट स्थानीयहरूमा खुसीको सञ्चार प्रवाह भएको छ।’
शिव पार्वतीको प्रेम कथामा आधारित यो नाचलार्ई किराँतकालीन मानिन्छ। ४५ मिनेटदेखि एक घण्टासम्म देखाइने यो नाचको अन्त्यमा शिव र पार्वतीको भेट हुन्छ। संयोगान्त कथामा नाच समापन हुन्छ।
सम्पदा तथा पर्यटन विभागका उपनिर्देशक सृजु प्रधानका अनुसार रोकिएको नाच पुनःसञ्चालन गर्न प्रशिक्षण चलाउनुपर्ने, बाजा, पोशाक, मुकुट र गहना किन्नुपर्ने भएकोले गएको बर्ष धेरै रकम थियो। अहिलेसम्ममा नाच सञ्चालन गर्ने आधार तयार भएको छ यस वर्षका लागि पाँच लाख रुपैयाँ छ।