बर्दियाको बारबर्दिया नगरपालिकाले प्राविधिकतर्फका इन्जिनियरिङ, एमबिबिएस र सिए विषय पढ्न चाहने निम्न आयस्रोत भएका विद्यार्थीलाई पूर्ण छात्रवृत्तिका लागि आवेदन माग गरेको छ।
यी तीन विषयमा एक–एकजनालाई छात्रवृत्ति प्रदान गर्ने योजनाअनुसार चालु आर्थिक वर्षमा रु २५ लाख बजेट विनियोजन गरेको बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारूले जानकारी दिए। नगरभित्र ४२ सामुदायिक र १५ संस्थागत गरी कुल ५७ विद्यालयमा अध्ययनरत बालबालिकामध्ये आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमार्फत् सो बिषयमा पढ्नका लागि यो योजना अघि सारेको शिक्षा शाखाप्रमुख टीकानाथ गोसाईंले जानकारी दिए। उनले भने, 'हामीले आवेदन माग गरेका छौँ। आवेदनका आधारमा छनोट गरेर छात्रवृत्ति दिन्छौँ।'
अनिवार्य तथा निःशुल्क शिक्षा प्रत्याभूत भएको नगरपालिकाका रुपमा २०७५ सालमा बारबार्दिया नगरपालिका घोषित भएको हो। त्यसयता विभिन्न शैक्षिक योजना बनाउँदै विपन्न तथा पछाडि पारिएका समुदायका विद्यार्थीका लागि काम गर्दै आएको छ। जनतासँग नगरप्रमुख, विद्यार्थीसँग नगरप्रमुखलगायत कार्यक्रममार्फत विद्यार्थीलाई शैक्षिक सहुलियत तथा शत्प्रतिशत छात्रवृत्ति प्रदान गरिरहेको नगरपालिका शिक्षा शाखाप्रमुख टीकानाथ गोसाईंले जानकारी दिए।
त्यस्तैगरी अति विपन्न, आमाबुबा नभएका बालबालिकालाई पनि आवासीय शिक्षा बाल संरक्षण केन्द्र बनाएर प्रदान गरिरहेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले ५० जना उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। आधारभूत तहमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका सयजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। प्रमुख गोसाईंले भने, 'घरैमा बस्ने तर विद्यालय जानका लागि आवश्यक कपीकिताब, पेन्सिल, पोसाक खरिद गर्न नसक्ने सयजना विद्यार्थीलाई छात्रवृत्ति दिँदै आइरहेका छौँ।'
नगरपालिकाले मुक्तकमैया, सुकुम्बासी बस्तीका बालबालिकालाई घरैमा बस्ने र पढाइका लागि आवश्यक सामग्री उपलब्ध गराउने गरेको हो। बारबर्दिया नगरपालिकाले शहीद विष्णु धनी बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याएको छ। वन विज्ञान विषयका लागि अनुमति पाइसकेको शिक्षालयमा १५ जना विद्यार्थीले पूर्ण छात्रवृत्ति, आठ जनाले ७५ र तीन जनाले ५० प्रतिशत छात्रवृत्तिमा अध्ययन गरिरहेका छन्।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट थप ६ वटा विषय सञ्चालनका लागि अनुमति माग गरेको नगरपालिकाले जनाएको छ। पढ्नकै लागि पालिकाका विद्यार्थी बाहिर जान नपरोस् भन्ने हेतुले नगरपालिका तथा सङ्घीय सरकारको साझेदारीमा बहुप्राविधिक शिक्षालय सञ्चालन गरेको प्रमुख गोसार्ईंले भने। पालिकाले ११७ जना शिक्षक व्यवस्थापन र प्रत्येक विद्यालयमा विषयगत शिक्षक दरबन्दी व्यवस्थापन गरेको छ। कूल बालबालिकामध्ये अहिले ३० हजार बालबालिकालाई पाठ्यपुस्तक वितरण गरिसकेको नगरपालिकाले जनाएको छ।