लागूऔषध अपराधमा १९ वर्ष जेलमा बिताएका नुवाकोटका सेसे फेरि उही धन्दामा

प्रहरीको फन्दामा लागुऔषध गिरोह

प्रमिला घिसिङ

काठमाडाैं

नुवाकोटका उर्पा तामाङ। उनलाई साथीभाइहरु सेसे उपनामले चिन्छन्। लागूऔषध बेचविखनको अपराधमा १९ वर्ष जेल सजाय काटेर पाँच वर्षअघि मात्र छुटेका हुन् उनी। जेल जीवनका क्रममा उनी सुन्धारास्थित केन्द्रीय कारागारमा लामो समय बिताएका थिए, उनले। थान्का पेन्टिङ सिके। अरु 'ह्याण्डीक्राफ्ट' का तालिम पनि लिए।

पाँच वर्षअघि जेलबाट छुट्दा घर–परिवार, इष्टमित्र सबैलाई लागेको थियो– सेसे सुध्रिएर आयो। परिवारले सपना देख्यो– कम्तिमा बुढेशकालमा भए पनि परिवार एकसाथ बसिने भइयो। तर, त्यो खुशी लामो समय टिकेन। नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोको टोलीले विभिन्न देशमा चरेस तस्करी गर्ने गिरोहलाई काठमाडौंको कपनबाट सेसेसहित नौ जनालाई पक्राउ गरेको छ। सेसे फेरि 'पटके अपराधी' का रुपमा प्रहरी हिरासतमा पुगेका छन्।

'पटके अपराधी' सेसे

प्रहरीले नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १३ का स्थायी वासिन्दा ५२ वर्षीय सेसे उपनामले चिनिने उर्पा तामाङलाई लागुऔषधसहित 'पटके अपराधी' का रुपमा सार्वजनिक गरेको छ– मंगलबार। सेसे २०७३ सालमा काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट छुटेका थिए– १९ वर्ष बिताएर। उनी २०५४ साल कात्तिक ३ गते आठ सय ५० ग्राम लागुऔषध हेरोइनसहित पक्राउ गरेका थिए। उनी यस्तै अपराधमा १९ वर्ष जेल सजाय काटेर पाँच वर्षअघि छुटेका थिए।

अदालतले उनलाई १५ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना तोकेको थियो। तर, उनले पाँच लाख रूपैयाँ तिर्न नसकेपछि त्यसबापत पनि चार वर्ष थप जेल बसेका थिए। सेसेले १९ वर्ष जेल बस्दा ६ महिनाको हस्तकला– थान्का बनाउने तालिम पनि लिए। उनले थान्का सिकेको प्रमाणपत्र समेत पाएका थिए। सजाय काटेर जेलबाट निस्किएपछि उनले त्यो सीपलाई दुरुपयोग गर्न लागे। त्यसैको परिणामस्वरुप उनी अहिले पुन: लागुऔषध नियन्त्रण ब्युरोको हिरासतमा पुगेका छन्।

प्रहरीले उनलाई काठमाडौंको सामाखुशीबाट पक्राउ गर्‍यो। पक्राउ गर्दा उनको कोठाबाट ऊनबाट बनाइएका विभिन्न रङ्गका हस्तकलाका सामानहरु थान २३ थान र नेपाली कागजका विभिन्न रङ्गका डायरी भित्र लुकाई राखेको लागू औषध प्रहरीले बरामद गरेको। यसरी विदेश पठाउन तयारी अवस्थामा राखिएको लागु औषध– चरेस तीन किलो ५७९ ग्राम प्रहरीले पक्राउ गरेको हो।

सेसेको निवासबाट लागू औषध चरेस बनाउन प्रयोग गरिने औजारहरु, चरेस लुकाउन प्रयोग गरिने कार्टुन, गम, र्‍यापिङ्ग टेप तथा हस्तकलाका सामान पनि बरामत गरेको छ। उनीसँगै नौ जनालाई प्रहरीले ‍पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हृदय थापाका अनुसार, सेसे जेलबाट छुटेपछि पनि सुध्रिएनन्। बरू उनले सिकेका सीपको प्रयोग गरी चरेसको कारोबार सुरू गरे। उनको अवैध धन्दामा उनका साझेदार थिए– नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ का ३४ वर्षीय वीरबहादुर तामाङ। सेसेले उनीबाट चरेस ल्याउने गर्थे। वीरबहादुरले विभिन्न जिल्लाबाट चरेस सङ्कलन गर्ने गरेको प्रहरीले जनाएको छ।

सेसेले उक्त चरेसलाई काठमाडौं टोखा नगरपालिका वडा नम्बर १ स्थित एउटा कोठामा लान्थे। त्यहाँ उनले 'हस्तकलाका सामान उत्पादन गर्ने कारखाना' नै खोलेको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठले बताए। 'त्यो कोठाभन्दा पनि कारखाना जस्तै थियो। विभिन्न किसिमका लेमिनेसन गर्ने, फेभिकोल, डायरी बनाउन प्रयोग गर्ने कागज पत्रहरू, 'ह्यान्डीक्राफ्ट' बनाउने सामान थियो,' उनले भने, 'चरेस लुकाउने कारखानाजस्तै बनाएको रहेछ।'

सेसेले पहिले हस्तकलासम्बन्धी तालिम लिएको हुँदा त्यस्ता सामानबारे उनलाई राम्रै जानकारी थियो। उनी हस्तकलाका सामग्रीको व्यवसाय पनि गर्दथे। सेसेले ऊनका तयारी सामग्री किनेर ल्याउँथे। नेपाली कागज र डायरीहरू पनि ल्याउँथे। अनि आफ्नो कारखानामा लगेर त्यसभित्र लागुऔषध 'प्याकिङ' गर्थे।

चरेसलाई पेलेर 'स्लाइस' बनाएर ह्यान्डीक्राफ्ट्सभित्र आकारअनुसार मिलाएर राख्ने गरेको पाइयो,' एसएसपी थापाले भने, 'डायरीका अगाडि–पछाडिका गातामा पनि राख्ने गरेको पायौँ।' नेपाली कागजका डायरी र 'ह्यान्डीक्राफ्ट्स' भित्र लुकाएर लग्दा प्रहरीले पनि विदेशमा त्यो सामान बेच्न लगेको ठान्ने हुँदा त्यस्तो उपाय प्रयोग गरेको प्रहरीले जनाएको छ।अवैध रूपमा नेपालमा १५ हजार रुपैयाँभन्दा बढीमा बिक्री हुने चरेस विदेशमा लाखौँ रुपैयाँ पर्ने ब्युरोको अनुमान छ।

सेसे, वीरबहादुरलगायतको समूहले चरेस लुकाएर विदेश पठाउँथे, त्यो पनि स्थलमार्गबाटै। स्थलमार्गबाट भारतको कलकत्ता पुगेपछि त्यहाँबाट पानीजहाज भएर हङ्कङ, थाइल्याण्ड, टर्की लगायतका देशहरूमा पुर्‍याउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको ब्युरोले जनाएको छ। त्यसको 'डिल' गर्न सेसे आफैं पनि पटक–पटक विदेश पुगिसकेका छन्। एसपी श्रेष्ठले उनीहरूले स्थलमार्गबाटै पाँच/सात पटक गरी ६० देखि ७० किलोसम्म चरेस पठाइसकेको बताए।

स्थलमार्गबाट धन्दा गरिरहेका उनीहरुको लकडाउनपछि ‍काम रोकियो। स्थलमार्ग पूर्ण रूपमा नखुलेपछि उनीहरूले यसको वैकल्पिक योजना बनाए– पहिलो पटक विमानस्थलमार्फत् कतार पठाउने।

सेसे र वीरबहादुर आफैँ भने चरेस लैजाँदैनथे। उनले विदेश जान लागेका सोझासीधा व्यक्तिहरूलाई हवाइजहाजको टिकट किनिदिने, होटलको बिल तिरिदिने र कसैलाई सुटकेस किनिदिएर लागूऔषध पठाउने गरेको पनि पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

एयरपोर्टमा पर्दाफास

सेसे र वीरबहादुरले भदौ २१ गते दुई जना व्यक्तिहरू कतार एयरवेजबाट दोहा जान लागेको कुरा थाहा पाए। कतार जान हिँडेका थिए– म्याग्दी मङ्गला गाउँपालिका वडा नम्बर ३ का २६ वर्षीय श्यामप्रसाद रोका र ३५ वर्षीय वीरबहादुर रोका मगर। उनीहरू कतार जाँदै गरेको खबर म्याग्दीकै ४४ वर्षीय दिलबहादुर रोकाले धादिङ गंगा जमूना गाउँपालिका वडा नम्बर ४ का अनिलबहादुर घलेलाई बताएका थिए।

घलेले फेरि धादिङकै २८ वर्षीय सुनबहादुरलाई भने। सुनबहादुरले धादिङ खनियाबास गाउँपालिका वडा नम्बर ५ बस्ने २८ वर्षीय यान्की भन्ने जीतबहादुर तामाङलाई जानकारी गराए। उनलाई 'कतार जाने व्यक्तिको खोजी गर्नू' भनेर निर्देशन दिने व्यक्ति चाहिँ माइला भनिने ३६ वर्षीय कृष्णबहादुर तामाङ थिए। कृष्णबहादुरले अन्तिममा सेसे र वीरबहादुरलाई जानकारी दिएपछि कतारमा चरेस पुर्‍याउने काम अघि बढेको एसएसपी थापाले बताए।

'कोभिड–१९ को कारण धन्दा रोकिएपछि केही चरेस बाँकी रह्यो। त्यसपछि कुन मुलुकमा पठाउने त भनेर उनीहरूबीच छलफल भएको थियो,' एसएसपी थापाले भने, 'त्यसपछि माइलाले कतारमा पठाउन सकिन्छ। चरेस मलाई देऊ भनेर उनले 'ह्यान्डीक्राफ्ट्स' बाट निकालेर लिएछन्। माइलाले आफ्नो मासु पसलमा लगेर पेलेर सुटकेशको 'फल्स बटम' मा राखेर पठाएको देखिन्छ।'

चरेसको कारोबारबारे माइला, सेसे र वीरबहादुर तामाङबाहेक अरू कसैलाई थाहा नभएको एसपी श्रेष्ठले बताए। सबै तय भएपछि चरेस भएको सुटकेश बोकेर श्यामप्रसाद रोका र वीरबहादुर रोका मगर भदौ २१ गते बिहान साढे आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्छन्। उनीहरूको उडान बिहान ११:०५ बजेको थियो।

विमानस्थलको 'एक्स–रे'मा उनीहरूको सुटकेश जाँच हुँदा केही शंकास्पद देखिएको थियो। प्रहरीले शंका लागेर पुन: चेक गरेपछि लागुऔषध ४ किलो ३५ ग्राम चरेस फेला पारेको थियो। उनीहरूलाई पक्राउ गरेपछि प्रहरीले दिलबहादुर, अनिलबहादुर, सुनबहादुर, माइलालगायत सात जनालाई पक्राउ गर्‍यो।

प्रहरीले उनीहरूमाथि अनुसन्धान गर्दै जाँदा सेसेलाई फेला पारे। प्रहरीले सेसेको डेराबाट विदेश पठाउन तयार पारेर राखेको थप तीन किलो ५७९ ग्राम लागुऔषध चरेस बरामद गरेको थियो।

सेसेले पनि चरेस कहाँबाट ल्याउने गरेको भन्नेबारे अनुसन्धान गरेपछि वीरबहादुरको खोजी सुरू भएको थियो। उनलाई प्रहरीले भदौ ३० गते नुवाकोटबाट पक्राउ गरी ल्याएको थियो।

सेसे र वीरबहादुरले चरेससँगै मेथामफेटामाइन (आइस) नामक लागुऔषधको पनि कारोबार गर्ने गरेको एसएसपी हृदय थापाले बताए। यद्यपि अहिले उनीहरूबाट सो लागुऔषध बरामद भएको छैन।

अनुसन्धानकै क्रममा सेसेले नक्कली कागजातको बिक्री गर्ने गरेको पनि पाइएको छ। इजरायल जाने व्यक्तिहरूलाई विभिन्न तालिमको नक्कली प्रमाणपत्र १० हजार रूपैयाँमा बेच्ने गरेको पाइएको प्रहरीले बताए।

प्रकाशित मिति: : 2021-09-22 19:13:00

प्रतिकृया दिनुहोस्