झापामा महिलाको हत्या गरी टुक्रा टुक्रा पारेर खोलामा फाल्ने चार जना पक्राउ

झापा गाउँपालिका-१ माइती घर भई भारत किसनगञ्ज जिल्ला सिंघीमारी ग्रामपञ्चायत बस्ने ५५ बर्षीया डोली भन्ने धोन्नी टुडुको हत्या अभियोगमा ४ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा किसनगञ्ज जिल्ला सिंघीमारी ग्रामपञ्चायतका २३ वर्षीय ऐतवार सोरेन, झापा गाउँपालिका-१ का ३७ वर्षीय लखन टुडु सतार, ५६ वर्षीय सिरी साइँला भन्ने सोमाई हेमरम सतार र २७ वर्षीय श्री हेमरम सतार रहेका छन्।

भदौ २५ गते तत्काल नाम थर वतन नखुलेको अवस्थामा झापाको झापा गाउँपालिका-१ स्थित सानो माईखोलामा महिलाको अर्ध शरीर भएको टाउको, घाटी, पेट (कम्मर भन्दा माथिको भाग) तथा घुँडा भन्दा मुनीको भाग नभएको अवस्थामा शव फेला परेको जनाकारीसँगै तत्काल जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट प्रहरी टोलीले घटनास्थलको मुचुल्का तथा कानुनी कारबाही अगाडी बढाएको थियो।

प्रहरीले अनुसन्धान तथा महिलाको अर्ध शरीरको शव फेला परेको सम्बन्धमा स्थानीयसहित उनको पहिचान गराउने क्रममा अर्ध शरीरको शव ५५ बर्षीया डोली भन्ने धोन्नी टुडुको रहेको खुलेको थियो।

शवको पहिचान खुलेसँगै थप अनुसन्धानमा जुटेको प्रहरीले उनको हत्या गरेको पुष्टि गरेसँगै उनको हत्यामा संलग्न रहेका चारै जनालाई असोज १ गते पक्राउ गरी आज जिल्ला प्रहरी कार्यालय झापाबाट पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

पक्राउ परेकाहरू मृतक धोन्नीको आफन्तहरू रहेको र जग्गाको विषयमा उनीहरूबीच विवाद हुँदै आएकोमा भदौ २५ गते यी चारै जना मिलेर धोन्नी टुडुलाई माईखोला किनारमा लगी शरीरको विभिन्न भागमा काटी टुक्रा-टुक्रा पारेर खोलामा फालेको भन्ने अनुसन्धानका क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पक्राउ परेका चारै जनामाथि कर्तव्य ज्यान मुद्दामा कानुनी कारबाही अगाडी बढाई घटना सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-09-23 12:51:00

प्रतिकृया दिनुहोस्