सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ। महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि भएको भन्दै आलोचना सुरु भएपछि अर्थ मन्त्रालयले कर वृद्धि नभएको र हुनुपर्ने कारण नरहेको स्पष्ट पारेको छ।
आयातीत प्याडमा १५ प्रतिशत आयात कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाइएको भन्दै सरकारको आलोचना भइरहेको छ।
राजस्व सचिव कृष्णहरि पुष्करका अनुसार जुनसुकै पदार्थका स्यानिटरी टाबेल (प्याड) र टेम्पोन, केटाकेटीका लागि आवश्यक पर्ने न्याप्किन र पुछ्ने रुमाल (न्याप्किन लाइनर) तथा यस्तै सामानमा कुनै पनि कर वृद्धि गरिएको छैन।
सचिव पुष्करले देशभित्र स्यानिटरी प्याडको उत्पादनलाई विशेष प्रोत्साहन गर्ने नीति लिइएको जानकारी दिए।
गत भदौ २५ गते अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आर्थिक विधेयक, २०७८ र आर्थिक अध्यादेश, २०७८ मा समेत ती सामग्रीमा कर थप नभएको अर्थ मन्त्रालयको प्रष्टोक्ति छ।
सरकारले मूल्यबृद्धि गरेको भन्दै हिजो काठमाडौंमा केहि युवायुवतीले सांकेतिक विरोध प्रदर्शन गरेका थिए। माइतीघरमा भएको प्रदर्शनमा प्रदर्शनकारीले ‘रातो कर, खारेज गर’, ‘सरकार महिनावारीमा कर कहिलेसम्म रु’ भन्दै अर्थमन्त्रीसँग जवाफ खोजेका थिए।