‘राजतन्त्र पतनको मुख्य कारण दरबार हत्याकाण्ड नै हो, त्यसपछि दरबारको रोशनी गयो’

हिमाल खबर

काठमाडाैं

९९४ सालको हिउँदमा बबरमहलमा जन्मिएका सागरशमशेर जबराका अनेक परिचय छन्। श्री ३ महाराज चन्द्रशमशेरका पनाति सागरशमशेर बुबा मृगेन्द्रशमशेर र दाजु भरतशमशेरद्वारा स्थापित गोरखा परिषद् हुँदै २०१७ सालको राजा महेन्द्रको ‘कू’ पछि परिषद्को नेपाली कांग्रेसमा विलयनसँगै नेपाली कांग्रेस पार्टीमा संलग्न रहँदै आएका छन्। नेपाली कांग्रेसको केन्द्रीय कमिटी सदस्य र विदेश विभाग प्रमुख रहिसकेका राणा हिजोआज पार्टीमा सक्रिय नदेखिए पनि लेखन कार्यमा मग्न छन्।

नेपाल हस्तकला सङ्घका संस्थापक अध्यक्ष, विश्व पर्यटन बजारमा चर्चित टाइगर टप्सका संस्थापकदेखि टेनिस खेल र पुस्तक लेखनसम्म फैलिएका राणाको संलग्नताले उनलाई उनकै शब्दमा ‘ब्रोड स्पेक्ट्रम’ (व्यापकता) दिएको छ।
मृगेन्द्र-रुक्मिणीका पाँच सन्तानमध्ये कान्छा अनि एक मात्र जीवित सदस्य उनै सागरशमशेरले भदौको तेस्रो साता हिमालका लागि शेखर खरेलसँगको कुराकानीमा आफ्नो विगतको पोयो एक कुशल व्याख्याकारले झैं यसरी फुकाए।

कोभिड-१९ महाव्याधिको यस असाधारण परिवेशमा तपाईँको समय कसरी बित्दै छ?

मेरो ‘स्पेक्ट्रम’ अलि फराकिलो भएकाले दिन बिताउन गाह्रो परेको छैन। अहिले म लेखनमा लागेको छु। सिंहदरबार सन् १९५१ सम्मको इतिहास थियो। अलि रमाइलोपन, रोचक कुराहरू हालेर त्यो रूखो इतिहास नबनोस् भन्ने प्रयास थियो। अब १९५१ देखि २००८ सम्मको इतिहास अंग्रेजीमा तयार पारेको छु। कोभिड-१९ का कारण प्रकाशन एक वर्ष ढिलो भए पनि यस वर्षको अन्त्यसम्म निकाल्ने प्रकाशकको लक्ष्य छ।

तपाईंको सिंहदरबार राणाशाहीको उत्थान र पतनसँग सम्बन्धित छ। प्रकाशोन्मुख पुस्तक टुङ्गिएको समय सन् २००८ भन्नाले राजतन्त्रको पतनसम्मको अवधि प्रष्ट बुझ्‍न सकिन्छ। सिंहदरबारमा राणाशाहीको पतनका कारणहरू प्रशस्त केलाइएका छन्। राजतन्त्र पतनको मुख्य कारण चाहिं तपाईं के देख्नुहुन्छ?

एउटा त समयको गति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारण पनि कुनै न कुनै वेला यो पतन हुन्छ भन्ने मेरो दिमागमा थियो। मुख्य कारण त दरबार हत्याकाण्ड नै हो। किनकि, त्यो वेलासम्म कतिपय नेपालीले राजालाई विष्णुको अवतार मान्थे। त्यो हत्याकाण्डपछि दरबारको जुन रोशनी थियो, त्यो गयो। त्यसपछि ज्ञानेन्द्र सरकारको सम्पूर्ण शासनको महत्त्वाकांक्षा आउँछ।
 

प्रकाशित मिति: : 2021-09-25 10:55:00

प्रतिकृया दिनुहोस्