सुन, हुन्डी र स्रोत नखुलेको रकमको गजबको कनेक्सन : भरिया समातिन्छन्, मालिक मुक्त

पहिलोपोष्ट

काठमाडाैं

शुक्रवार दिउँसो नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले ग१ख ६६४५ नम्बरको माइक्रो बसलाई रोकेर चेक गर्‍यो। चितवनबाट काठमाडौं आएको हाइसको सिट नम्बर ८ र ९ रहेका २६ सागर माली र १९ कृष्ण अढाडे प्रहरीको शङ्काको घेरामा परे। भारतको महाराष्ट्र घर भएका उनीहरूको साथमा रहेको कालो झोला प्रहरीले जाँच गर्न थाल्यो।

सागरका साथबाट ४५ लाख र कृष्णका साथबाट ५० लाख रुपैयाँ प्रहरीले भेट्टायो। त्यसपछि उनीहरूले यसरी रकम ल्याउनुको कारण र त्यसको स्रोत खोज्यो। उनीहरूले पैसाको स्रोत देखाउन सकेनन्। उनीहरु यति धेरै नगद लिएर यात्रा गर्दा प्रहरीको अनुसन्धानमा पर्नु स्वभाविक थियो। स्रोत खुलाउन नसकेपछि उनीहरुले बोकेको रकम 'अवैध' शीर्षकभित्र पर्‍यो र उनीहरु पक्राउ परे।

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लियो। यति धेरै रकम बोकेर उनीहरूले के प्रयोजनका लागि नेपाल आएका थिए? त्यो रकम उनीहरूको हो वा अरू कसैको भरिया बनेर ओसार्दै थिए? सुल्झिनसकेका प्रश्नको उत्तर प्रहरीले खोजी गरिरहेको छ। प्रहरीमात्र होइन, अब यसको अनुसन्धान सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गर्ने छ। स्रोत नखुलेको रकम फेला परेमा प्रहरीले थप अनुसन्धानका लागि विभागलाई बुझाउनुपर्छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले यी दुई युवक काठमाडौं छिरेको देखाए पनि उनीहरु कुन नाका भएर नेपाल प्रवेश गरेका हुन् पुष्टि हुन सकेको छैन। प्रहरीको प्रारम्भिक अनुसन्धानले संकेत गरेको छ - उनीहरूसँग बरामद गरेको रकम उनीहरूको होइन, अरु कसैको हो।

प्रकाशित मिति: : 2021-09-26 10:23:00

प्रतिकृया दिनुहोस्