भ्रष्टाचार भएको उजुरी परेपछि पर्साको कालिकामाई गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले छापा मारेको छ।
गत असोज ९ गते गाउँपालिका कार्यालयमा पुगेको अख्तियारको टोलीले तीन दिन बसी विभिन्न कागजात चेक गर्नुको साथै विकास निर्माणलगायत पालिकाले थालनी गरेको कामको स्थलगत निरिक्षण गरेको छ।
आशंका लागेका कामको कागजात नियन्त्रणमा लिएको आयोगको कार्यालय हेटौंडाका उप–सचिव एवम् सूचना अधिकारी विष्णु प्रसाद सापकोटाले बताए। उनले कार्यालयका कर्मचारीहरुसंग पनि सोधपुछ गरेको बताए।
कालिकामाई गाउँपालिकाले संचालन गरेको विकास योजना, कर्मचारी भर्ना, सम्मान कार्यक्रम, धारा जडान कार्यक्रम, आइसोलेशन, नदी सफाई तथा सडक ढलान आदिको विषयमा धेरै उजुरी परेको हुँदा आवश्यक कागजातहरु माग गर्दा गाउँपालिकाले समयमा नपठाएपछि विज्ञसहितको टोली छानविनको लागि गाउँपालिकाको कार्यालयमै पुगेको उनले बताए। केहि कागजात नियन्त्रणमा लिएको र अनुसन्धान गर्ने बताउँदै दोषी पाइएमा कारवाही गर्ने उनले बताए।