अमेरिकाले बनायो कोरोनाविरुद्धको औषधि, सफल परीक्षणपछि प्रयोगमा ल्याउने तयारी

Photo: Reuters
Photo: Reuters

अमेरिकी औषधि उत्पादक कम्पनी मर्कले विकास गरेको कोरोना विरुद्धको औषधि मोल्नुपिरभिरले कोरोना संक्रमितको मृत्यु ५० प्रतिशतले घटाउने एक परीक्षणले देखाएको छ।

अन्तरिम क्लिनिकल परीक्षणको नतिजाअनुसार कोरोना संक्रमितलाई मर्कको चक्की दिनको दुईपटक दिइएको थियो। यो परीक्षणको नतिजा सकारात्मक भएकाले अन्य बाह्य अनुगमनकर्तालाई परीक्षणकाल छोट्याउन मर्कले अनुरोधसमेत गरेको छ।

मर्कले आगामी दुई साताभित्र आपतकालीन प्रयोग अनुमतिका लागि निवेदन दिने तयारी गरिरहेको कम्पनीले जनाएको छ। राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकार डाक्टर एन्थोनी फाउचीले पनि यस औषधिको नतिजा अत्यन्त सुखद भएको बताएका छन्। औषधिले अनुमति पाए मोल्नुपिरभिर कोरोनाविरुद्धको पहिलो एन्टीभारइल खाने औषधि बन्ने छ।

भाइरसको जेनेटिक कोडमा परिवर्तन ल्याउनेगरी डिजाइन गरिएको औषधिले भाइरस शरीरमा फैलनबाट रोक्ने कम्पनीको दाबी छ। मोल्नुपिरभिर परीक्षण गरिएको समूहमा कसैको पनि मृत्यु नभएका कारण यो औपधि प्रयोग गर्न मिल्ने दाबी कम्पनीको छ।

अहिले मर्कबाहेक फाइजर र स्वीस कम्पनी रोचेले पनि खाने चक्की परीक्षण गरिरहेका छन्।

प्रकाशित मिति: : 2021-10-02 16:39:00

प्रतिकृया दिनुहोस्